भिडियो

कार्यकर्तालाई निजी शिक्षण संस्था खोल्न लगाएर सरकारी ध्वस्त पारियो (भिडियोसहित)

कार्यकर्तालाई निजी शिक्षण संस्था खोल्न लगाएर सरकारी ध्वस्त पारियो (भिडियोसहित)

प्रकाश शाही, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीका सचिव हुन् । लोकमान सिंह कार्कीलाई कालोमोसो लगाएर चर्चामा आएका शाहीले नेपालआजसँग विद्यार्थीका माग, समस्या र समाधानबारे गहन विचार राखेका छन् । प्रस्तुत छ उनका विचार उनकै शैलीमाः 

 

‘विद्यार्थीका मागहरु पूरा हुँदै भएनन् भन्ने होइन, धेरै कुराहरु पूरा पनि भएका छन् । विद्यार्थी संगठनहरु भनेका विशुद्ध विद्यार्थीका लागि मात्रै बोल्ने संगठनका रुपमा स्थापित छैनन् । उनीहरु पार्टीको भातृ संगठन भएको दृष्टिले जनताका सवालहरु पनि उठाउँछन् । 

 

राजनीति ठीक ठाउँमा छैन भने सबै कुरा भएर पनि केही उपलब्धी प्राप्त हुँदैन । उदाहरणकालागि अहिले हेरौं न । अहिले दुई तिहाईको सरकार छ । त्यो पनि कम्युनिष्ट कै सरकार हो । समाजवाद उन्मुख त संविधान मै उल्लेख छ ।  तर पनि यो सरकारले विद्यार्थी मजदुर, गरिब किसानको लागि काम गर्न सकेको छैन । किनभने राजनीति ठीक ठाउँमा नभएको कारण यस्तो भएको हो ।

 



 

यो देशमा विद्यालय, विश्वविद्यालयको हालत विद्यार्थी संगठनका कारण भएको होइन । राजनीतिका कारण यो सबै भएको हो । विश्वविद्यालयको भिसी र रेक्टर भागवण्डाका आधारमा नियुक्त हुन्छन् । क्षमता र योग्यताका आधारमा पदाधिकारी नियुक्त हुँदैनन् । विगतमा जो शिक्षाको विकृति हटाउन आन्दोलन गरेका थिए, तिनै अहिले शिक्षा मन्त्रालयमा र वरपर छन् । उनीहरुले नै चाहेनन् शिक्षामा सुधार गर्न । नेपालको शिक्षा माफियाको हातमा पुगेको छ । 

 

संसदीय व्यवस्थाले बहुसंख्यक मानिसको प्रतिनिधित्व गर्दैैन । संसदीय व्यवस्थामा ठेकेदार, माफिया, व्यापारीहरु पनि सांसद हुन्छन् । नीति निर्माणमा पुग्छन् । हाम्रो नेपाल कम्युनिष्ट पार्टीले एकीकृत जनक्रान्तिको माध्यमबाट हामी समाजवादी व्यवस्था ल्याउँछौं र संसदीय व्यवस्थाले पूरा गर्न नसकेका काम सम्पन्न गर्छौं । अबको बाटो त्यही नै हो । 

 

लोकमान सिंहलाई हामीले कालोमोसो दलेका हौं । जनआन्दोलन दबाउनेलाई नै संवैधानिक पदमा नियुक्त गरेपछि त्यसको प्रतिकार गरेका हौं हामीले । कानुनविपरीत हामीले जे जे गर्यौं, त्यसको सजाय पनि पाएका छौं । तर पनि जनताले कारबाही होस् भन्ने चाहनालाई हामीले पूरा गर्यौं । त्यसबापत हामीले जे जस्ता सजाय पाउने थियौं, त्यो जोखिम अरुले उठाएनन् । हामीले उठायौं । 

 

थोरै मानिसहरुले कुनै फरक वा कानुनविपरीत काम गरे भने त्यो अराजकता हुन्छ । त्यही काम बहुसंख्यकले गरे भने त्यो काम आन्दोलन हुन जान्छ । हामीले जनताको मनमा भएको काम गरेका छौं । हामीले फटाहाहरुलाई जनकारबाही गर्दा जनताहरु खुसी भएका छन् । जनताले हामीलाई  प्रशंसा र सम्मान गरेका  छन् । कानुनको कुरा बेग्लै हो, तर जनताले भने हाम्रो कामलाई वैधानिक बनाएका छन् । 
कानुनले के भन्छ थाहा छैन, जनताले हामीलाई वैधानिकता दिएका छन् 

 

एक कक्षामा १४ लाख विद्यार्थी भर्ना हुन्छन् । एसईईमा ४ लाख मात्रै विद्यार्थी हुन्छन् । बीचमै ८–९ लाख विद्यार्थी हराउँछन् । यो कति ठूलो समस्या होला त ? पाठ्यक्रममा पनि राष्ट्रियताको कुरा छैन । आफू कसरी अगाडि जाने, कसरी आफ्नो भलो गर्ने भन्नेमा पाठ्यक्रम केन्द्रीत छ । शिक्षा पद्धति मै खोट छ । वैज्ञानिक शिक्षा पद्धति चाहिनछ । विश्वविद्यालयहरु पनि समस्याग्रस्त छन् । 

 

कृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नै चार आंगिक व्यवस्थित गर्न सकेको छैन । उसलाई अरु आठ दश वटा कलेजलाई सम्बन्धन नदिई उसलाई भएको छैन । यस्ता बेथितिमा कहिले सरकारले वास्ता गरेको छैन । आफ्नै कार्यकर्तालाई निजी स्कुल, कलेज खोल्न लगाएका छन् राजनीतिक दलका नेताहरुले । अनि उनीहरु सरकारी गुणस्तर ध्वस्त पारेर निजीमा विद्यार्थी धकेल्न चाहन्छन् । 

 

कोही पनि विद्यार्थीहरु अहिले स्वदेशमा बस्न चाहँदैनन् । नारामा समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा लिइएको छ । तर व्यवहारमा कुनै फरकपन छैन । यसकारण नै हामी आन्दोलित हुनुपरेको हो ।’
 

प्रकाश शाही नेत्रविक्रम चन्द विप्लव अनेरास्ववियु क्रान्तिकारीका

विशेष