एसिया प्यासिफिक समिटका चार उपलब्धि – परिवार दल
अध्यक्ष ढकालको सुरक्षा प्रबन्ध मिलाउन सरकारसँग माग
काठमाडौं । एसिया प्यासिफिक समिटको सफलताले देशको प्रतिष्ठा उच्च बनाएको, जलवायु परिवर्तनबारे चेतना प्रचार गरेको, नेपालमा पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको र नेपालको शान्ति प्रक्रियाले अन्तर्राष्ट्रिय मञ्चमा प्रवेश पाएको नेपाल परिवार दलले निष्कर्ष निकालेको छ ।
परिवार दलको हालै राजधानीमा सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । अध्यक्ष एकनाथ ढकालका अनुसार केन्द्रीय समितिको बैठकले सरकारको ‘सम्बृद्ध नेपाल, सुखी नेपाली’ अभियान सफल बनाउन पनि परिवार दलले औपचारिक निर्णय नै गरेको छ । पूर्वमन्त्री एवं सो पार्टीका अध्यक्ष ढकालको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री केपी ओलीलाई जनआकांक्षा बमोजिम प्रभावकारी कामहरु गर्न सुझाव दिएको छ । परिवार दलले सरकारलाई राजनीतिक नियुक्तिहरुमा योग्यता, क्षमता र क्षेत्रगत विज्ञता भएका व्यक्तिहरुलाई प्राथमिकता दिन अनुरोध गरेको छ ।
राष्ट्रिय मुद्दाहरुमा एक भएर अगाडि बढ्ने वातावरण सिर्जना गर्ने दायित्व सरकारको भएको भन्दै परिवार दलले निर्मला पन्त हत्या प्रकरण तदारुकताका साथ छानविन गरी सत्य पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । बैठकले अध्यक्ष ढकालको सुरक्षा बन्दोबस्त मिलाउन सरकारसँग माग गरेको छ । एसिया प्यासिफिक समिट सफलतापूर्वक नेपालमा सम्पन्न भएपछि अध्यक्ष ढकालमाथि सुरक्षा चुनौती थपिएको बताइन्छ ।
बैठकले परिवार दलका जिल्ला समन्वय समितिहरुलाई आबश्यकताअनुसार पुर्नगठन गदै संगठन बिस्तारलाई तिब्रता दिने तथा जनपक्षीय कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले राजेश बिष्टलाई परिवार दलको काठमाडा जिल्ला समन्वय समितिको अध्यक्षको जिम्मेबारी दिएको छ ।
बैठकमा दलका केन्द्रिय सल्लाहकारहरु डा.चूडाबहादुर श्रेष्ठ, केशबप्रसाद चौलागाईं, आनन्द कार्की, सबिना कार्की, पूर्वएआईजी प्रकाश कुवँर, प्राध्यापक डा.तुलसी पाठक, डा.मिलन रत्न शाक्य, प्राध्यापक डा. श्रीरामप्रसाद उपाध्याय, प्राध्यापक नारायण शर्मा गजुरेल तथा महेश प्रसाईले नेपालमा परिवार दलको सान्दर्भिकता बढ्दै गएको बताउदै क्रियाशील भएर देशब्यापी अभियान संचालन गर्न केन्द्रिय कार्यसमितिलाई सुझाब दिएका छन् ।
बैठकमा परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रवक्ता सन्तोषकुमार पौडेल, कोषाध्यक्ष मिलनकुमारी राजबंशी र सचिव गोबिन्द मिश्रले यथाशीघ्र पार्टीलाई स्थानीय स्तरसम्म लैजाने कार्यक्रम संचालन गरिने जानकारी दिए । केन्द्रीय सदस्यहरु तथा नेताहरु प्रकाशबाबु थापा, शिबकृष्ण श्रेष्ठ, राजेश बिष्ट, गणेशकुमार श्रेष्ठ, काशिनाथ खनाल, मनोजकुमार सुर्खेती, नबिन जैशी, जानकी घिमिरे, रुपा थापा, रामबहादुर लिम्बु, पिया रत्न महर्जन, रामचन्द्र चौधरी, डा. श्याम नेपाल, सन्त बहादुर पन्त लगायतका नेताहरुले समसामयिक बिषयमा बोलेका थिए ।