नेकपा बैठक : राजनीतिक प्रतिवेदन परिमार्जन, दिगम्बर झाको भ्रष्ट छवि देखि एसिया प्यासिफिक सम्मेलनमा सहभागिता पार्टी र सरकारको बदनाम
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको स्थायी समिति बैठकमा पनि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पेश गरेका राजनीतिक प्रतिवेदनको आलोचना गरिएको छ।
पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा जारी पार्टी स्थायी समितिको सोमबार, मंगलबारको बैठकमाझै बुधबार पनि नेताहरूले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेका छन्।
राजनीतिक प्रतिवेदनमाथिको आलोचना गर्ने क्रम जारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। उनले राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न पनि नेताहरूले नेतृत्वलाई सुझाव दिएको पनि बताए।
नेता सुरेन्द्र पाण्डेले हालै काठमाडौंमा सम्पन्न एसिया प्यासिफिक सम्मेलनमा सहभागि भएर पार्टी र सरकार बद्नाम बनेको आरोप लगाएका छन् ।
विगतमा छुवाछुत प्रथा रहँदा सुनपानी छर्किने प्रचलन रहेको स्मरण गर्दै उनले भने, ‘पहिला बाहिर गएर आउँदा सुनपानी छर्किने प्रचलन थियो । अहिले एशिया प्यासिफिक समिटले हामीलाई बदनाम बनायो । नेतृत्वले सुनपानी छर्किने उपाय निकाल्नुपर्छ । तत्र पार्टीलाई ठूलो नोक्सानी हुन्छ ।’
यस्तै नेता लेखराज भट्टले दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिबारे गम्भीर प्रश्न उठाएका छन् ।
झा भ्रष्ट छविको व्यक्ति भएको भन्दै उनले आफू मन्त्री हुँदाको समय झाले आयल निगममा नियुक्त हुनको लागि घुसको प्रस्ताव गरेको खुलासा गरे ।
त्यस्तो विवादित व्यक्तिलाई किन र कुन आधारमा नियुक्ति गरिएको हो त्यसबारे पार्टी र सरकारले जवाफ दिनुपर्ने उनले बैठकमा माग गरेका थिए ।
बैठकमा देवप्रसाद गुरुङ, लेखराज भट्ट, वर्षमान पुन, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, , सुरेन्द्र पाण्डे र पुष्प कँडेलले धारणा राखेका थिए ।
स्थायी कमिटीका २६ जना स्थायी कमिटी सदस्यहरुले आफ्नो विचार राखेका छन्। नेकपाको ४५ सदस्यीय स्थायी कमिटी रहेको छ
गत शनिबार सुरू भएको पार्टी स्थायी समिति बैठकमा अध्यक्षद्वय ओली र दाहालले तयार पारेको संयुक्त राजनीतिक प्रतिवेदनमाथि सोमबारदेखि छलफल सुरू भएको हो।
बैठक बिहीबार बिहान ८ बजेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्ने छ।