कांग्रेस हिन्दुराष्ट्रको पक्षमा आए सहकार्य गर्न तयार :अध्यक्ष थापा
पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्र पुनस्थापनालाई लिएर छलफल भएकोमा खुशी लागेको बताएका छन् ।
शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले हालका लागि कांग्रेसको नेतृत्वतहलाई हिन्दु राष्ट्र पुनस्थापनाको पक्षमा लाग्ने आँट गर्न आग्रह समेत गरे ।
उनले कांग्रेसले हिन्दुराष्ट्रको पक्षमा आए राप्रपा सहकार्य तयार भएको बताए । ‘नेपाली कांग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्रको विषयले प्रवेश पाएको छ, सहभागिहरुले नै हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर गरेको सुनेको छु,’ उनले भने, ‘यसले हामीमा उत्साह प्रदान गरेको छ, हिम्मत गरेर महासमिति बैठकले हिन्दुराष्ट्रको पक्षमा आए हामी सहकार्य गर्न तयार छौं ।’
उनले हिन्दु राष्ट्र पछि ढिलाचाँडो कांग्रेस राजतन्त्रको पक्षमा आउने दाबी गरे । तत्कालै राजतन्त्रको पक्षमा कांग्रेस नआउन सक्छ , तर कम्युनिष्टहरुको विकल्पमा आफूलाई प्रस्तुत गर्न भएपनि राजतन्त्रको पक्षमा आउनै पर्ने उनको भनाई छ ।
‘अहिले नै कांग्रेस राजतन्त्रको पक्षमा आँउछ भन्न सक्दिन, तर उ राजतन्त्रको पक्षमा ढिलोचाँडो अवश्य आउँछ,’ उनले भने, ‘कांग्रेस विपिको सिद्धान्त अनुरुप चल्ने हो भने र कम्युनिष्टको एजेन्डा छोड्ने हो भने राजतन्त्रको बाहेकको विकल्प छैन ।’
हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र संघीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि राप्रपाले देशव्यापी जनसंघर्षको अभियान सुरु गर्ने भएको छ ।
अध्यक्ष थापाले शान्तिपूर्ण संघर्षका तयारीको लागि देशब्यापि प्रशिक्षण चलाएको बताए ।
पार्टीले गर्ने जनसंघर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि भएको उनको भनाई छ । उनले पछिल्लो एक दुई वर्षमा धर्म, संस्कृति र नेपाली पहिचान माथि नै आक्रमण भएको बताए ।