राजधानीमै घर भएर पनि घर भाडा लिंदै प्रदेश सांसद
डोटी । काठमाडौंमा घर भएका सांसदले घर भाडावापत लिएको रकम फिर्ता गरिरहेका बेला सुदूरपश्चिम प्रदेशका सांसदले भने घरभाडा लिइरहेको पाइएको छ ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको कैलालीमै घर भएका प्रदेश सांसदले घर भाडावापतको रकम लिइरहेको पाइएको हो ।
प्रदेशस्थित संसद् सचिवालयका अनुसार कैलालीमा घर भएका ११ सांसदले कैलालीमा आफ्नो घर नभएको भन्दै महिनैपिच्छे घर भाडावापतको रकम लिइरहेका हुन् ।
यसरी राजधानीमै घर भएर पनि घर भाडा लिने सांसदमा कैलाली क्षेत्र नं ५ ‘ख’ बाट निर्वाचित कांग्रेस सांसद डिल्लीराज पन्त, कांग्रेसका समानुपातिक सांसद टेकबहादुर रैका, कैलाली क्षेत्र नं ३ बाट निर्वाचित नेकपाका सांसद वीरमान चौधरी, नेकपाकी समानुपातिक सांसद सुशीला बुढाथोकी, राजपाकी समानुपातिक सांसद मालामती राना, कैलाली क्षेत्र नं ४ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद तथा पूर्वमन्त्री दीर्घ सोडारी, क्षेत्र नं ५ को ‘क’ बाट निर्वाचित नेकपाका सांसद नेपालु चौधरी, नेकपाकी समानुपातिक सांसद चुनकुमारी चौधरी, नेपाली काङ्ग्रेसका सांसद दिव्येश्वरी शाह, डोटीबाट निर्वाचित सांसद काङ्ग्रेस सांसद भरतबहादुर खड्का र कञ्चनपुरबाट समानुपातिक सांसद बनेका कांग्रेस नेता देवराज पाठक रहेको बताइएको छ ।
संसद सचिवालयका अनुसार सभामुख र उपसभामुखबाहेक अन्य सबै सांसदले घर भाडावापतको रकम लिइरहेका छन् ।
मुख्यमन्त्री, मन्त्री तथा सभामुख र उपसभामुखले सरकारी आवास सुविधा पाएकाले घरभाडा नपाउने नियम छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढीमा घर भएका सांसदले घर भाडावापत रकम लिएको भन्ने सुन्नमा आएको र आफूलाई सो विषयमा आधिकारिक जानकारी नभएको बताए ।
उनले भने, “धनगढी घर भएकाले घर भाडा बुझ्दैछन् भन्ने हल्ला सुनेको छु, अरु मलाई थाहा भएन ।”
घर भाडावापत विपक्षी दलका नेताले रु २० हजार, सत्तापक्षको प्रमुख सचेतक र सभापतिले रु १८ हजार, सत्तापक्षका सचेतक र विपक्षी दलको प्रमुख सचेतकले रु १८ हजार र सांसदले रु १७ हजारका दरले मासिक रुपमा पाउने प्रावधान छ ।
त्यस्तै सांसदलाई फर्निचर खर्चवापत एकमुष्ट रु एक÷एक लाख दिने प्रावधानअनुसार सबै सांसदले सो रकमसमेत लिइसकेको बताइएको छ ।
संसद् सचिवालयले ऐनबमोजिम सबै सांसदलाई घर भाडाको रकम उपलब्ध गराइएको सचिवालयका सचिव बलराम शर्माले बताए ।
“ऐनमा व्यवस्था भएअनुसारको रकम सबै सांसदले बुझ्नुुभएको छ”, उनले भने, “मेरो घर धनगढीमै छ म लिन्न भनेर कसैले पनि भन्नुभएको छैन ।”
सांसद सचिवालयका पदाधिकारीको सेवा सुविधा तथा तलबभत्तामा मात्रै मङ्सिरसम्म रु तीन करोड ८६ लाख ३८ हजार ६१२ खर्च भएको संसद सचिवालयका सचिव शर्माले बताए।
उनले धारा र बिजुलीका लागि रु दुई हजार, सञ्चार सुविधावापत रु तीन हजार सबै सांसदले लिने गरेको जानकारी दिए ।
सुदूरपश्चिम प्रदेश