अपडेट : दाङ दुर्घटनाका २३ मध्ये १३ जनाको सनाखत
काठमाडौं । शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा परि मृत्यु भएका २३ जनामध्ये १३ जनाको सनाखत भएको छ । १९ जना पुरुष र चार जना महिला गरी २३ जनाको मृत्यु भएको र तिमध्ये १३ जनाको शव सनाखत गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सनाखत भएकामध्ये जुम्लाका पाँच जना र दाङ्गका ५ जना रहेका छन । अरु विभिन्न जिल्लाका रहेका छन् । प्रहरीका अनुसार सनाखत हुनेमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नं १७ का २८ बर्षिय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ बर्षिय नरेश वली रहेका छन् ।
दाङको दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षिय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षिय बिजय जीएम, जाजरकोटका अतिस नेपाली, जुम्लाका हिक्मत बोहोरा र कञ्चनपुरका खेमराज भट्ट, हिमा गाउँपालिका–५ जुम्लाका सैलजा शाही, बबई गाउँपालिका–५ दाङका २१ वर्षिया कविता खत्री, तुलसीपुर–१८ का गणेश विक र चन्दननाथ नगरपालिका–६ जुम्लाका १६ वर्षिया कुशुम रावत को मृत्यु भएको छ ।
मृत्यु हुने र घाइते सबै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन् । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरी ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाईते भएका १४ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहोलपुरमा उपचार भइरहेको छ ।
यसैबीच दुर्घटनाका घाइतेलाई काठमाडौँ लैजाने तयारी भइरहेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलको पहलमा घाईतेलाई थप उपचारको लागि काठामाडौँ लगिने तयारी गरिएको हो ।