नेकपा बैठक : आन्तरिक एकता सुदृढ गरेर अघि बढ्नुपर्नेमा जोड
अमेरिका भ्रमण अत्यन्त सकारात्मक र फलदायी भएको
काठमाडौं । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समितिको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल शनिबार पनि जारी रह्यो ।
पार्टी र सरकारको काम कार्वाहीबारे समिक्षा गर्ने मूल एजेण्डासहित एक हप्ता अघिबाट सुरु भएको स्थायी समितिको शनिबारको बैठकमा पनि अध्यक्षद्वय ओली र प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल जारी रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पार्टी केन्द्रीय कार्यालय धूम्बाराहीमा बसेको बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलमा हालसम्म ४६ स्थायी कमिटी सदस्यले विचार राखेका छन् ।
शनिबारको बैठकमा नेता माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा र गिरिराजमणि पोखरेलले धारणा राखेका प्रवक्ता श्रेष्ठले बताए ।
उनका अनुसार नेता प्रदीप ज्ञवाली अमेरिका भ्रमणपछि शनिबार मात्रै आएकाले आइतबारको बैठकमा धारणा राख्नेछन् ।
शनिबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले हालै अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा गरेका अमेरिका भ्रमण र दुईपक्षीय वार्ताको बारेका जानकारी गराएका थए । परराष्ट्रमन्त्रीको भ्रमण र वार्ता अत्यन्त सकारात्मक र फलदायी भएको बैठकलाई जानकारी दिएका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
आइतबारको बैठकमा नेता ज्ञवालीले बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्षद्वय ओली र दाहालले दिनेछन् । त्यसपछि सो प्रतिवेदन पारित गर्ने वा परिमार्जन गर्ने भन्ने विषय टुंगोमा पुग्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
बैठकमा नेताहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको र पार्टी एकीकरणको कामलाई अझै टुंगोमा पुर्योउन नसकेको भन्दै पार्टी नेतृत्व र सरकारको चर्को आलोचना गरिरहेका छन् । उनीहरुले अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्नेमा सुझाव समेत दिएका छन् ।
केही पार्टी नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’मा सहभागी भएकोमा आत्माआलोचना गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग माग गरेका थिए । यस्तै बैठकमा दूरसञ्चार प्राधिकरणमा दिगम्बर झालाई गरिएको नियुक्तिलाई लिएर समेत गम्भीर प्रश्न उठाएका छन् ।
बैठकमा सरकारको काम कार्वाही प्रभावकारी गराउन भन्दै केही नेताहरुले मन्त्रीपरिषद पुनर्गठन गर्न पनि माग गरेका थिए ।
शनिबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो अमेरिकी भ्रमणबारे बिफ्रिङ गर्दै सफल भएको दावी गरेका थिए ।
प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भए गरेका कार्य तथा निर्णयका साथै जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् ।
प्रतिवेदनउपर छलफल चलिरहँदा नेताबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै भए गरेका कामको सबल र कमीकमजोरीका पक्षलाई केलाएर आम पार्टी पङ्क्ति र कार्यकर्तालाई उत्साहित ढङ्गले बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने बैठकले निष्कर्ष निकाल्ने नेता छविलाल विश्वकर्माले उल्लेख गरे ।
यस्तै आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले केही विषयमा समय माग गरेर बोल्ने कार्यक्रम छ ।
यसैबीच नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले बैठकपछि विज्ञप्ति जारी गरेर गत मङ्सिर २९ देखि शुरु भएको स्थायी कमिटीको तेस्रो बैठक पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ८ः१५ बजे आरम्भ भएर ११ः३० बजेसम्म सञ्चालन भएको र बैठकमा पाँच जना नेताले राजनीतिक प्रतिवेदनका सम्बन्धमा आफ्नो विचार व्यक्त गर्नुभएको जानकारी दिए ।
स्थायी कमिटीको अर्को बैठक आइतबार बिहान ८ बजे पुनः बस्ने छ ।