कुरा: खस्रा मिठा अन्तरवार्ता भिडियो

पोलमा फोटो टाँसेर प्रधानमन्त्रीको भलो हुनेवाला छैन (भिडियोसहित)

पोलमा फोटो टाँसेर प्रधानमन्त्रीको भलो हुनेवाला छैन (भिडियोसहित)

अरुणकुमार सुवेदी नेपाल आजमा ‘कुरा खस्रा मीठा’ भिडियो स्तम्भका स्तम्भकार हुनुहुन्छ । यसपटक उहाँले सामाजिक सुरक्षा योजनाबारे विचार राख्नु भएको छ । सरकारले हालै शुरु गरेको सामाजिक सुरक्षा कोषबारे विश्लेषक सुवेदीले चिरफार गर्नु भएको छ । प्रस्तुत छ  उहाँसँग भएको कुराकानीको मुख्य अंशहरुः 


सामाजिक सुरक्षा योजना हालै सरकारले लागू गरेको छ । यसलाई कसरी लिनु भएको छ ? 
मैले हेरेँ । जुन पदावलीका साथ यो कार्यक्रम अगाडि आएको छ । त्यो केही अर्थमा रोचक छ । २०५१ सालदेखि सामाजिक सुरक्षाको विषयमा अनवरत रुपमा लेखिरहेको, बोलिरहेको व्यक्ति म हुँ । तर सामाजिक सुरक्षा स्वरुपबाट आउनु पथ्र्यो, त्यो स्वरुपबाट आएन  । ‘मामाकी घोडी मेरी हिही’ जस्तो भयो । 

 

जनताबाट लिएर जनतालाई नै दिने सामाजिक सुरक्षा गतिलो भएन भन्ने तपाईंको मत छ । सरकार आफैले चाहिँ ३ करोड जनतालाई कहाँबाट ल्याएर पेन्सन दिने ? 
सोसलिस्ट भावभूमिबाट आएका शक्ति मात्रै होइन, अहिलेको विश्वव्यापी मान्यता के हो भने शिक्षा स्वास्थ्य र वृद्धअवस्थाको सुरक्षा, अशक्त नागरिकहरुको दायित्व राज्यले लिनु पर्छ । त्यो नै हो सामाजिक सुरक्षाको मूल सिद्धान्त । मैले सामाजिक सुरक्षा जुन सरकारले भनेको योजना छ, त्यो स्किम त कमर्सियल कम्पनीहरुले नै व्यवस्था गर्छन् । कर्मचारी सञ्चयकोष जस्तै सामाजिक सुरक्षा बैंक खडा गरेर पनि गर्न सकिन्छ ।

 

फिक्स डिपोजिटमा राखे पनि त पैसा त फिर्ता आउँद । निक्षेपबाट पैसाले पैसा कमाएको जस्तै हो । मैले नै राखेको पैसाबाट मैले नै सामाजिक सुरक्षा प्राप्त गर्न सरकारले यति ठूलो हंगामा गर्नु पर्दैन । मुख्य कुरा भनेको शिक्षा हो । शिक्षाको व्यवसायिकरण र भेदभावपूर्ण शिक्षा परिवर्तन गरेर सामाजिक न्यायपूर्ण शिक्षा स्थापना गर्नु पर्छ । धनी र गरिबको बच्चाहरु एउटै बेञ्चमा बसेर पढाउने व्यवस्था गरेको छ कि छैन ? पैसा छ भने बाँच, छैन भने रोगले मर भन्ने व्यवस्था नै खराब हो । 

 

 

यो कार्यक्रम कसरी चाहिँ आउनु पथ्र्यो त तपाईंको बिचारमा ? 
हामीले कर त्यसै पनि तिरिरहेका छौं । अहिलेका मरिसकेका उद्योगलाई थप शिरोभार थपिएको छ । त्यो पैसाबाट सरकारले गर्नु भनेको कुरा भएन । यस्तो कार्यक्रम अरु पोलिसीले पनि दिन सकिन्थ्यो । 

 

यो प्रकरणमा एउटा स्वागतयोग्य कुरा थियो । स्वास्थ्य निःशुल्क सबैलाई गराउन सकिन्न भनेर बीमा गराउने कुरा आयो । भारतमा पनि यो सम्बन्धी एउटा पोलिसी निर्माण भएको छ । निश्चित पैसा लिएर स्वास्थ्य बीमाको पोलिसी सार्वजनिक गरिएको छ । 

 

गगन थापा स्वास्थ्यमन्त्री हुँदा त्यो प्रक्रिया शुरु भएको थियो । सबै जिल्लामा लागू गर्ने भन्ने कुुरा भइरहेको छ । त्यो स्वागतयोग्य हो । तर अहिले सामाजिक सुरक्षाका लागि गर्नु पर्ने सम्पूर्ण काम हामीले गरेका छौं भने झै प्रचार गरिएकोछ । त्यो चाहिँ सही होइन । यस्तो पोल प्रचारवाला योजनाले बहुसंख्यक नेपाली जनताको सामाजिक सुरक्षा गर्दैन ।

 

सामाजिक सरक्षाको मूलभूत मुद्दालाई डाइभर्ट गरिँदैछ ।  शिक्षा र स्वास्थ्यको विषय मूल मुद्दा हो । मूल कुरालाई सामान्य कुरालाई सरकारले डाइभर्ट गर्दैछ । दोस्रो कुरा, जबसम्म सामाजिक सुरक्षा हुँदैन, तबसम्म राष्ट्रमा भ्रष्टाचार नियन्त्रण पनि हुँदैन । एउटा अथोरिटीमा बसेको मान्छेलाई आफू त्यहाँबाट निस्किसकेपछि आफ्ना छोराछोरीको स्कुलको फि तिर्न नसके स्कुलले निकालिदिन्छ भन्ने थाहा छ । उपचार गर्ने पैसा नभए स्वतः मर्नु पर्छ भन्ने थाहा छ । हरेक छोराछोरीलाई स्मार्ट फोन चाहिएकोछ । यो अवस्थामा कुनै पनि ठाउँबाट पाउने बेतनले उसका आधारभूत आवश्यकता पूर्ति गर्न नसकिरहेको छ भने सामाजिक सुरक्षाको के कुरा भयो र ? 

 

1

तपाईं शिक्षा एकै खाले हुनुपर्छ भन्नु हुन्छ । निजी स्कुललाई पनि सरकारीकरण गरिदियो भने ती पनि आम सरकारी स्कुल जस्तै निकम्मा हुन्छन् हैन र ? 
तपाईंले भनेको कुरामा म सम्पूर्णहिसाबले असहमत छु । नेपालको राजनीति र कर्मचारीतन्त्र सरकारी स्कुलको उत्पादले धानिरहेको छ । सरकारी स्कुलको उत्पादन खराब छ भन्ने होइन । सरकारी स्कुलका शिक्षक पनि दक्ष छन् । काठमाडौंका अधिकांश सरकारी र निजी स्कुलको तुलना गरिदिन्छु । खातापिताहरुका घरमा बसेका हाउसमेडहरुलाई सरकारीमा र आफ्नालाई बोर्डिङमा पढाउँछन् ।

 

आफ्नालाई ट्युसन पनि राखेको हुन्छ । हाउसमेडले बिहान बेलुका घरको काम गर्छ । दिउँसो स्कुल जान्छ । यस्ता विद्यार्थी सरकारी विद्यालय पठाउने, फि तिर्न नसक्ने त्यहा जाने । निजीमा पढ्ने बच्चाहरुलाई लिन बस पनि आउने । यस्तो वर्ग निर्माण गर्ने अनि सरकारी स्कुल खत्तम, निजी राम्रो भनेर हुन्छ ? 

 

ल विद्यार्थी साटौं त अनि बोर्डिङको हालत के हुन्छ । निजीले रेष्टिकेट गरेका विद्यार्थीसमेत सरकारी स्कुलमा हुन्छन् । 
बोर्डिङ स्कुलको उत्पादन भनेको देशलाई माया गर्ने छैन । देशमा बसेर काम गर्नु भन्दा गोराहरुको मापदण्डमा उनीहरुको देशमा काम गर्ने र उनीहरुलाई चाहिएको जनशक्ति बन्ने कामलाई राम्रो भनियो । अमेरिका गएका अधिकांश विद्यार्थी सरकारी स्कुलका छन् । युरोप र अष्ट्रेलिया जानेहरुको पनि हालत त्यही छ । सरकारी स्कुलको उत्पादन नेपालमै बसेर संघर्ष गरिरहेको छ । विभिन्न कारणले सरकारी स्कुलमा पढेको विद्यार्थीले राम्रो अंक ल्याउन सकेको हुँदैन । तर खाडी नै गएर भए पनि रेमिट्यान्स त भित्र्याइरहेको छ । 

 

सबै नागरिकहरुको बायोमेट्रीक कोडिङ गर्ने सरकारले भनिरहेको छ । यो त राम्रो हो । 
यसरी कोडिङ गरेपछि उसले कुन ठाउँमा कति समय काम गरेको छ, सबै अभिलेख राख्न सकिन्छ । उसले काम गर्दै गर्दाको बखत उसको योगदान, कर तिरेको रकम आधारमा उसको सामाजिक सुरक्षाको व्यवस्था लागू गर्नु पर्छ । यति थोरै जनसंख्या भएको देशमा यो व्यवस्था सजिलै लागू गर्न सकिन्छ । अहिले सबै स्कुलहरु मर्ज गर्नु भयो भने यति धेरै स्कुल पनि खोल्नु पर्दैन । अहिले शिक्षा र स्वास्थ्यमा लगानी सबैभन्दा बढी प्रतिफल दिने भएको छ । वास्तविक उत्पादन हुने क्षेत्रमा लगानी नै नगर्ने भएको छ । बैंक पनि ऋण दिन यतै लालायित छन् । बैंकहरुले कृषि र उत्पादनमा लगानी नै गर्दैनन् । 

 

नेपालमा खासै कर्पोरेट कामदार छैनन् । उद्योग पनि धेरै छैनन् । जिन्दगीभर खानीमा गिटी कुटेर खाने मान्छेलाई यो सामाजिक सुरक्षा योजनाले कसरी समेट्छ ? नेपालमा बहुसंख्यक मानिस त अनौपचारिक क्षेत्रमा छन् । 

 

न्युनतम पारिश्रमिक पनि नदिने शोषकहरु पनि छन् । के उनीहरुले सामाजिक सुरक्षा कोषमा पैसा जम्मा गरिदेलान् ? 
केही त पैसा दिनै नसक्ने पीडित लगानीकर्ता, उद्योगी व्यवसायी पनि छन् । शोषकी भन्दा क्रान्तिकारी जस्तो हुने हुन्छ । शोषक त पञ्चायतमा थियो होला । अन्त शोषक छैनन् । गुण्डाहरु हुन् शोषक । कुनै पनि उद्योगले शोषण नै गरौं भन्ने सोच्दैनन् । राम्रो कमाएका उद्योगमा कामदारको राम्रो छ । बियर उत्पादक, एनसेल, सूर्य टोबाकोका कामदारको राम्रो तलब छ । जसले कमाएको छ त्यसले दिएको छ । कमाउन नसक्नेले दिएका छैनन् । 

 

निजी क्षेत्रले सामाजिक सुरक्षा कोषलाई सहयोग गर्ने भनेका छन नी ? 
कर्मचारीले  कटाउने त जाला कोषमा । तर रोजगारदाताले दिनु पर्ने पैसा नतिर्ने गरेका कारण विवाद उत्पन्न हुने सम्भावना म बढी देखिरहेको छु । 

 

कोषका केही राम्रो योजना पनि छ नी त ? 
सामाजिक सुरक्षा कोषको सट्टा सामाजिक सुरक्षा बैंक नाम राखे हुने थियो । आफ्नो पैसा आफैले लिने हो । सामाजिक सुरक्षाको मूलभूत सिद्धान्तबाट यो विमूख छ । नयाँ युगको सुरुवात होइन । नयाँ संस्थाको सूत्रपात भनेको भए हुन्थ्यो । कसले सरकारलाई अर्ति दियो थाहा छैन । मलाई सोधको भए म त्यही भन्थे । 

 

सामाजिक सुरक्षा कोषको जसलिने होड छ  कसले पाउनु पर्ने हो जस ? 
कस कसले के के गरे विगतमा मैले पात्रो बनाएर हेरेको छैन । सामाजिक सुरक्षा हुनु पर्छ भन्ने सबैको चाहना हो । सबै सोसलिस्ट पार्टी छन् । गोकर्ण विष्टको फोटो छापियो, लेबर रिलेटेड भएर होला । तर यो ठूलो कुरा होइन । अघि भनिहाले नी । नयाँ संस्थाको सूत्रपात गरेर काम थालेको भए हुने हो । अहिले २० प्रतिशतको कुरा गरिएको छ ।  केही नभएको बेला केही गरेँ भनेर सरकारले ठूलो तामझाम गरियो । यो प्रस्तुतीले सरकारको छविलाई राम्रो बनाउनेवाला छैन । 

 

प्रधानमन्त्रीले सरकार  छैन भन्नेहरुलाई देखाउन तामझाम गरेको भन्नु भयो । कति सहमत हुनुहुन्छ ? 
जसले सरकार छैन भनेका छन्, तिनलाई केपी ओली प्रधानमन्त्री हुन् भन्ने थाहा छ । सरकारले गरेका कामहरुको हिसाब पनि थाहा छ । तिनीहरुलाई सरकार छ भन्ने देखाउन प्रधानमन्त्रीको फोटो पोलमा टास्न पर्दैन । यस्ता प्रकारका काम भनेको प्रधानमन्त्रीविरुद्ध उनीहरुकै मान्छेले गरेको ‘सफ्ट कू’ हो । केही कृतदासहरुलाई मन पर्छ होला । जसरी राजालाई कांग्रेस र एमालेलाई लखटे मात्रै राजसंस्थाको जय हुन्छ भन्ने सिकाए, अहिले प्रधानमन्त्रीलाई पनि त्यसै गरी सुझाए । पोल प्रस्तुतीले प्रधानमन्त्रीको भलो हुनेवाला छैन । भारतको देखासिकी गरेको हो कि ? लामो समय भारतीयहरु दासत्वमा बसे । हामी स्वतन्त्र । उनीहरुमा चाकडीप्रथाको वैद्यानिकरण छ । नेपालीमा छैन । उनीहरुको राष्ट्र गान नै जर्ज पञ्चमको प्रशंसा हो । भारतीय र नेपालीको माइन्डसेट नै फरक छ । यो भद्दा भयो । 

 

विशेष