नेता नेपालको स्पष्टिकरण : प्यासिफिक सम्मेलनमा सहभागि भएर कुनै गल्ती गरेको छैनौ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जारी स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले टिप्पणी गर्ने क्रम सकिएको छ।
बैठकमा बोल्ने नेताहरुले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’का बारेमा सरकार र पार्टी नेताको सहभागीताको विषयमा प्रश्न उठाएर चर्को आलोचना गरेका थिए।
सम्मेलनमा सहभागी भएर गलत भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आत्माआलोचना गर्नुपर्ने माग चर्कोरूपमा बैठकमा उठेको छ।
तर, वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टिकरण दिने क्रममा युनिफिकेशन पिस फेडेरेशन नराम्रो संस्था नभएको बताएका छन्।
त्यो कार्यक्रम गरेर कुनै गलत भएको होइन। यसको प्रभाव गलत पर्न गएछु, हामी कार्यक्रम जानु गल्ती होइन, एक नेताले भने ।
उनले अध्यक्ष ओली र आफू दुवै जनाको सल्लाह बमोजिम नै कार्यक्रमको गएको बताएको ती नेताले जानकारी दिए ।
नेता नेपालले आफु उक्त संस्थाको कार्यक्रममा मात्र ६ पटक सहभागी भएको स्पष्टीकरण दिएको बैठकमा सहभागी नेताले बताएका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, रघुजी पन्त लगायतका वरिष्ठ नेताहरुले नेपालको दाबी खण्डन गरेका छन् । सम्मेलनमा सरकार र पार्टी शीर्ष तहको सहभागिता गलत भएको यसले पार्टी नेताहरुको छवि धमिल्याएको बताए ।
उनीहरुले नेतृत्व र नेपाल दुवैले समिटमा आफ्नो संलग्नतालाई लिएर स्पष्टीकरण नै दिनु पर्ने माग समेत गरेका थिए।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले २०१२ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सरकारसँग मिलेर संयुक्त कार्यक्रम गर्ने प्रस्ताव आएको तर, आफूले विरोध गरेको स्मरण गरेका थिए ।
स्थितीलाई साम्य पार्न अध्यक्ष ओलीले समिटमा आफ्नो संलग्नताबारे उठेको प्रश्नको जवाफ नदिई अब यस मामिलालाई चर्काउन नहुने र केही कुरा गर्नु परेमा आगामी राजनीतिक प्रतिवेदनमा समावेश गरिने भन्दै तातिएको माहोलालाई शान्त बनाउने कोशिस गरेका थिए।
गएको मंसिर २९ गतेदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी कमिटीको बैठक आईतबार बिहान बसेर सकिएको छ। बिहान ८ बजेदेखि शुरू भएको बैठकमा नेता प्रदीप ज्ञवालीले आफ्नो विचार राखेपछि अध्यक्षद्धय ओली र दाहालले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ।
बैठकमा नेताहरूले बोल्ने क्रम शुरू भएपछि अब दुई अध्यक्षले स्थायी कमिटीका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्। बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ नेता ओली र प्रचण्डले आज अपरान्ह ४ बजे बस्ने पार्टी स्थायी समिति बैठकमा दिने कार्यक्रम रहेको छ।