होली वाइन पिउने कम्युनिष्टहरुले धर्मको बारेमा कांग्रेसलाई पढाउनु पदैन :प्रवक्ता शर्मा
काठमाडौं । नेपाली कांग्रेसले धर्मका बारेमा आफूहरुलाई नपढाउन कम्युनिष्ट नेताहरुलाई चेतावनी दिएको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
“सनातन धर्म संस्कृति परम्परा विपरित गएर एउटा निश्चित धर्मको प्रचारमा सरकारका संयन्त्रको प्रयोग हुन्छ । प्रधानमन्त्री सहआयोजक जस्तो गरेर होटलमा बस्छन् । होली वाइनका नाममा मिल्ने नमिल्ने कुरा ग्रहण गर्छन्,” प्रवक्ता शर्माले भने, “उहाँहरुले नेपालको धर्म संस्कृतिका सन्दर्भमा राख्नुपर्ने गम्भीर हेक्का पनि राख्नुभएको छैन । यसमा कांग्रेसको विमति बारे दस्तावेजमै उल्लेख हुनेछ । त्यसैले धर्मको सन्दर्भमा कम्युनिष्ट पार्टीका मित्रहरु जो द्धन्द्धवात्मक भौतिकवादमा हुर्कनुभएको छ । जसले धर्म अफिम हो भनेर बाल्यकाल सुरुवात गर्नुभएको छ । उहाँहरुले धर्म, कर्म र संस्कृतिका बारेमा नेपाली कांग्रेसलाई पढाइरहनु पर्दैन ।”
शनिबार आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस महासमिति बैठकमा हिन्दू धर्मको विषयमा चर्चा हुनु दुखद भएको टिप्पणी गरेपछि जवाफमा शर्माले यस्तो प्रतिक्रिया दिएका हुन् ।
कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले हालै एसिया प्यासिफिक सम्मेलनको नाममा एउटा धर्मलाई प्रश्रय दिएको आरोप पनि शर्माले लगाए ।
नेपाली कांग्रेसको आफ्नो विधानलाई नेपाल कम्युनिस्ट पार्टीले पनि पछ्याउन बाध्य हुने बताएका छन् । प्रवक्ता शर्माले बैठकबाट पारित विधानलाई नेकपा र अन्य दलहरुले पनि पछ्याउने दावी गरेका हुन् ।
‘हामीले बनाएको विधानलई पछ्याउन कम्युनिस्ट पार्टी पनि बाध्य हुनेछ, उनले भने ‘संविधानमा भएका ब्यवस्था अरु राजनीतिक दलले व्यवस्थापन गर्नुअगाडि हामीले गरेका छौं । हामीले लागू गछौं अनि अरुले पछ्याउनेछन् ।’