नेकपा स्थायी कमिटी बैठक स्थगन
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४ः३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अर्को बैठक पुस ११ गते बस्ने उनले बताए । प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आइतबार अपराह्न बोलाइएकोे बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम थियो ।
“सबै सदस्य पार्टी कार्यालय आइसक्नु भएको थियो, अध्यक्ष ओलीको समय अभावले अन्तिममा स्थगन गरियो, अब अर्को बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको छ”, श्रेष्ठले भने ।
अध्यक्ष ओली आइतबार सरकारी वकिलको दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी भएकोले बैठकमा उपस्थित हुन सकेनन् ।
पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा बिहान बसेको बैठकमा नेता प्रदीप ज्ञवालीले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि आफ्नो भनाइ राखेपछि प्रतिवेदनमाथिको छलफल सकिएको थियो ।