मुख्य समाचार राजनीति

कांग्रेस महासमिति बैठक आज सकिदै, सभापति तथा वरिष्ठ नेताहरुले सम्बोधन गर्ने 

कांग्रेस महासमिति बैठक आज सकिदै, सभापति तथा वरिष्ठ नेताहरुले सम्बोधन गर्ने 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आइतबार समापन हुदैछ । 

बैठकमा संशोधित विधान पेश गर्न ढिला भएपछि महासमिति बैठक औपचारिकता पूरा गर्दै समापन हुन लागेको हो । बैठकले मुुलत विधानमा व्यापक छलफल गरी एजेण्डा अनुमोदन गर्ने कार्यसूची भएपनि संशोधित विधान पेश गर्न ढिला भएपछि त्यो संम्भव  हुन नसकेको हो । 


आठ दिनसम्म चलेको बैठकको आइतबार अन्तिम दिन केही महासमिति सदस्यहरुले विधानमाथि धारणा राखेपछि आइतबार नै बैठक समापन गर्ने तयारी भइरहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।उनका अनुसार महासमिति सदस्यहरुले धारणा राखेपछि सभापति र वरिष्ठ नेताले सम्बोधन गरेर बैठक समापन गर्न लागिएको हो । 

 

महासमिति बैठकमा सदस्यहरुले महामन्त्री पुर्ण बहादुर खड्काद्धारा पेश भएको विधान मस्यौदामाथि धारणा राख्ने क्रम विहानै देखि जारी छ । बैठकले विधान मस्यौदा, राजनीतिक, साङ्गठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनलाई पारित गर्नेछ । 
यसअघि पुस ३ गते नै बैठक सक्ने कार्यतालिका सार्वजनिक भएपनि बैठकमा ढिलो गरी विधान पेश भएपछि महासमिति बैठक लम्बिएको हो । 

 

विधान बाहेक अन्य प्रतिवेदनमाथिको छलफल भने सम्पन्न भइसकेको छ । अन्य चार प्रतिवेदनमाथि बैठकको सुरु मै पेश भई छलफल भएपनि विधान मस्यौदा प्रतिवदेन भने शनिबार मात्र पेश भएको हो । 

शनिबार विधान पेश भएपछि त्यसैमा केन्द्रीत रहेर छलफल भएको प्रवक्ता शर्माले जानकारी दिए  । शनिबारको बैठकमा विधानमाथि छलफलमा सहभागि अधिकांश जिल्ला सभापतिहरुले यसअघि कांग्रेसका जुनसुकै तहका नेताहरु स्वत महाधिवेशन प्रतिनिधि हुने व्यवस्थालाई हटाउनुपर्ने निष्र्कषमा पुगेका थिए ।

स्वतः महाधिवेशन प्रतिनिधि हुँदा तल्लो तहसँगको सम्बन्ध कमजोर हुने भन्दै उनीहरुले विधानमा यो व्यवस्थालाई परिवर्तन गर्न जोड दिएका हुन् । त्यस्तै आरक्षणका सवालमा पनि एक व्यक्तिले एक पटकमात्रै आरक्षण पाउनुपर्ने र प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने सभापतिहरुको माग छ । 


गत शुक्रबार काँग्रेसका शीर्ष नेताहरुबीच नयाँ विधानमा सभापति १, उपसभापति २, महामन्त्री २, सहमहामन्त्री ८ तथा कोषाध्यक्ष १ गरी १४ जना पदाधिकारी राख्ने सहमति भएको थियो । जसलाई महासमिति बैठकले संशोधित विधान सहमतिका साथ पारित गरेको थियो ।  तर, पदाधिकारीको सख्या, निर्वाचन पद्दति तथा केन्द्रीय सदस्यहरुको सङ्ख्याका बारेमा कांग्रेसमा व्यापक विवाद भएको थियो ।


महासमिति बैठकमा छलफल भइरहेको विधान मस्यौदामा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारीसहितको १६७ सदस्यीय केन्द्रीय कार्यसमिति रहने प्रावधान छ ।


कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुने र कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ । त्यस्तै आठ सहमहामन्त्रीमा संविधानले व्यवस्था गरेका समावेशिताका सबै क्लष्टर समावेश गरिनेछन् । सबै समावेशीताका आधारमा सदस्यको निर्वाचनका साथै ३३ जना मनोनित हुने व्यवस्था विधान मस्यौदामा छ । 

काङ्ग्रेसको विधानमा हाल कूल ८५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ, जसमा पदाधिकारीमध्ये एक सभापति, एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित तथा एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने प्रावधान छ । 

विशेष