राजनीति

 प्रकाण्ड भन्छन्, ‘हामी कुनै युद्धको तयारीमा छैनौं, सरकारले बन्दुक देखाए प्रतिवादमा उत्रिन्छौंं’  

 प्रकाण्ड भन्छन्, ‘हामी कुनै युद्धको तयारीमा छैनौं, सरकारले बन्दुक देखाए प्रतिवादमा उत्रिन्छौंं’  

बुटवल । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ ले आफ्नो पार्टीले कुनै युद्धको तयारी नगरेको स्पष्टिकरण दिएका छन् ।

 

पार्टीलाई बद्नाम गराउन ‘बाहिर युद्धको तयारी भएको भ्रम’ छरिएको भन्दै त्यसको विश्वास नगर्न जनतालाई आग्रह गरे ।

 

क्रान्तिकारी पत्रकार संगठनले  बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले बन्दुक देखाए त्यस विरुद्ध उत्रिने चेतावनी दिए ।

 

‘हामी कुनै युद्धको तयारीमा छैनौँ, तर सरकारले बन्दुक देखाए त्यसको प्रतिवादमा उत्रिन्छौँ,’ उनले भने ।

 

सरकारद्वारा गठिन वार्ता समितिसँग वार्ता गर्न तयार रहेको उनले बताएका छन् । तर वार्ता राजनीतिक दलको हैसियतमा हुनुपर्ने उनको अडान छ ।


‘सत्तारुद्ध नेकपा (नेकपा) भन्दा हामी बलियो शक्ति हौँ, दलकै हैसियतमा वार्ता समितिसँग छलफल गर्न तयार छौँ,’ उनले भने ।

 

पूर्वमन्त्री समेत रहेका नेता प्रकाण्डले सरकारको कडा आलोचना समेत गरे । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार टिकाउन सकस भइसकेको उनको दावी छ ।

 

बहुमत सहित सरकारमा गए पनि जनताका अपेक्षा अनुरुप काम गर्न नसकेको सरकार आफ्नै कारणले धेरै दिन टिक्ने अवस्थामा नरहेको उनको भनाइ छ ।

 

वर्तमान सरकार अरु कसैका कारणले नभई आफ्नै पार्टीका नेताहरुका कारण कमजोर हुँदै गइरहेको जिकिर नेता प्रकाण्डले गरे ।

 

बहुमतयुक्त सरकारका प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई व्यवस्थापन गर्न नसक्नु नै सरकार कमजोर भएको संकेतको रुपमा अथ्र्याएका छन् । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिष्ट पार्टी खड्ग बहादुर बिश्वकर्मा ‘प्रकाण्ड’

विशेष