राजनीति

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयले आज जवाफ दिने 

नेकपा स्थायी कमिटी बैठकः अध्यक्षद्वयले आज जवाफ दिने 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बुधबार बस्दै छ ।

 

बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले नेताहरूका विभिन्न प्रश्नमाथि जवाफ दिने तयारी गरेका छन् ।

 

२९ मंसिरमा सुरु भएको बैठकमा ४४ जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयको प्रतिवेदनमाथि धारणा राखेका थिए ।

 

आधाभन्दा बढी नेताले सरकार प्रभावकारी नभएको र पार्टी नेतृत्व गतिहीन भएको आरोप लगाउँदै जवाफ मागेका छन् । 

 

अध्यक्षद्वय ओली–प्रचण्डको प्रतिवेदनप्रति असहमति जनाउँदै वामदेव गौतम, भीम रावल र हरिबोल गजुरेलले प्रतिवेदन पेस गरेका थिए ।

 

दुवै अध्यक्षले जवाफ दिएपछि स्थायी कमिटी बैठक सम्पन्न हुने र त्यसपछि सचिवालय बैठकले जनवर्गीय संगठनको एकता, पार्टीको स्थानीयस्तरसम्मको एकता र सरकारका विषयमा निर्णय लिने नेता थापाले बताए ।

 

 ओलीले डेढ घन्टा र प्रचण्डले एक घन्टा बोल्ने

स्थायी कमिटी सदस्य मणि थापाका अनुसार बैठकमा अध्यक्ष ओलीले डेढ घन्टा र प्रचण्डले एक घन्टा बोल्ने तय भएको छ ।

 

सुरुमा प्रचण्ड र त्यसपछि ओलीले बोल्नेछन् । स्रोतका अनुसार स्थायी कमिटी सदस्यले सोधेका प्रश्नको एक–एक जवाफ ओली–प्रचण्डले दिनेछन् । 

 

सरकार र पार्टी एकताको विषयलाई लिएर स्थायी कमिटी सदस्यले ६ दिनसम्म २–२० मिनेटको समयमा धारणा राखेका थिए ।

 

बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेता, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, अग्नि सापकोटा, मणि थापालगायतले सरकार र पार्टी नेतृत्व प्रभावकारी नभएको भन्दै आलोचना गरेका थिए । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेकपा स्थायी कमिटी बैठक ओली–प्रचण्ड

विशेष