ज्याकेट, क्याप र बाइकमा निर्मलाको पोस्टर टाँस्दै युवाहरुद्धारा न्यायको माग
काठमाडौं । निर्मला पन्तको हत्यारालाई कारबाहीको माग गर्दै युवाहरुले आफ्नो ज्याकेट र मोटरसाइकलामा स्टिकर टाँस्न थालेका छन् । स्वतन्त्र युवाहरुको समूहले ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने नारा लेखेका निर्मला अंकित पोस्टरहरु काठमाडौंका विभिन्न पोल तथा भित्तामा टाँसेका थिए । तर , निर्मलाका लागि न्याय मागेका तस्विरहरु प्रहरीले च्यतिदिएको थियो भने पोस्टर टाँस्नेहरुलाई पक्राउ गर्दै आएको छ ।
सो समूहले निर्मलाको लागि न्यायको माग गर्दै आफना ज्याकेट, क्याप, झोला र बाइकमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर टाँस्ने अभियान सुरू गरेको छन् । आफनो ज्याकेट, क्याप र झोलामा स्टिकर राख्दा सुरक्षित हुने र प्रहरीले हस्तक्षेप गर्न नसक्ने उनीहरुको भनाई छ ।
युवाहरुले यस्तो तस्वीर अंकित स्टिकर आआफ्नो ब्याग, ज्याकेट र गाडीमा टाँस्न अरुलाई पनि आह्वान गरेका छन् ।
यो समूहले निर्मलाको लागि न्याय माग गर्दै काठमाडौं उपत्यकासहित, कास्कीलगायतका जिल्लामा समेत निर्मला पन्तको तस्विर अंकित पोस्टर टाँस्दै आएका छन् ।
यसअघि यही समूहले काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा राष्ट्रपति विद्यादेवी भण्डारीका लागि गाडी किन्न भन्दै भीख मागेको थियो । राष्ट्रपतिका लागि १८ करोडको गाडी किन्न लागिएको भन्दै त्यसेको सांकेतिक विरोध स्वरुप सो समूहले गाडी किन्नको लागि भीख मागेका थिए ।