राजनीति

अब कोही पनि गरिब हुँदैनन्ः प्रधानमन्त्री ओली

अब कोही पनि गरिब हुँदैनन्ः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण अब नेपालमा कोही पनि गरिब नरहने बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसद् शुक्रबार उद्घाटन गर्दै उनले कार्यक्रमले धेरै श्रमिकलाई गरिबीबाट मुक्त गर्ने दाबी गरे ।

 

श्रमजीवी जनताको हित गर्ने सरकार भएकाले उनीहरूको वृत्तिविकास र आर्थिक स्थिति सुधार गर्न सधैं सकारात्मक रहने ओलीले बताए । ‘हामीले मजदुरको मात्र होइन, उद्योगीहरूको पनि हित हुने गरी कार्यक्रम ल्याएका छौं,’ उनले भने, ‘मजदुर र मालिक दुवै पक्षलाई सहमत गराएर ल्याएको सामाजिक सुरक्षा कार्यक्रम धेरैका लागि नौलो विषय हो ।’

 

ओलीले सरकारले धनीलाई थप धनी हुनबाट रोक्ने नभई गरिबलाई धनी बनाउने नीति अख्तियार गरेको बताए । ‘सामाजिक समानताका आधारमा गरिबलाई पनि खानलाउन र दैनिक जीवन सहज ढंगले धान्न पुग्ने गरी कार्यक्रम ल्याउँछौं,’ उनले भने, ‘सामाजिक विभेद हटाउन धेरै समय नलागे पनि सामाजिक समानताका लागि अलिकति समय लाग्छ । हामी छिट्टै त्यो अवस्थामा पुग्छौं ।’

 

प्रधानमन्त्रीले शीतलहरबाट तराईमा हुने प्राकृतिक प्रकोपबाट कसैको मृत्यु हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।  सरकारले अधिनायकवाद ल्याउँदै छ भनेर प्रतिपक्ष कांग्रेसले जनतालाई त्रस्त पार्न खोजेको दाबीसमेत प्रधानमन्त्रीले गरे ।  यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओली

विशेष