राजनीति

प्रचण्ड भन्छन्, ‘खटाएको ठाउँमा नजाने कर्मचारीलाई बिदा गर्नुपर्छ’  

प्रचण्ड भन्छन्, ‘खटाएको ठाउँमा नजाने कर्मचारीलाई बिदा गर्नुपर्छ’  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले खटाएको कार्य क्षेत्रमा नजाने कर्मचारीलाई बिदा गर्नुपर्ने बताएका छन् । काभ्रेको चौरी देउराली २ स्थित खाँडादेवी माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष दाहालले सरकारले खटाएअनुसार नजाने कर्मचारीलाई बिदा गरेर नयाँ भर्ना गर्नुपर्ने बताए ।

 

‘राष्ट्रसेवक भनिएका कर्मचारी ऐन, कानुनको व्यवस्थाअनुसार देशको कुनै पनि भागमा जानुपर्छ ।’, दाहालले भने, ‘यदि जान तयार नहुने हो भने राज्यले बिदा गरिदिनु पर्दछ ।’ उनले तत्काल कर्मचारी समायोजन गरेर संविधान कार्यान्वयनतिर लाग्नुपर्नेमा जोड दिए । उनले संघ, प्रदेश र स्थानीय सबैतिर कर्मचारी सामायोजन प्रक्रिया सुरुआत हुन लागेको पनि बताए ।

 

सिंहदरबारकेन्द्रित अधिकार गाउँगाउँमा पुगोस् भन्ने उद्देश्यले संघीयता र गणतन्त्र ल्याएको भन्दै अध्यक्ष दाहालले कर्मचारी समायोजन बेलैमा नहुँदा उक्त कुरा पूरा हुन ढिलाई भइरहेको बताए । अध्यक्षले अगाडि भने, ‘अहिले कतिपय कानुनको अभावमा या कर्मचारी समायोजनको अन्योलताका कारण ढिला भएको पक्कै पनि हो ।’

 

नेकपा स्थायी समिति बैठकले लोकतान्त्रिक वातावरणमा छलफल गर्दै पुस महिनाभित्र तलैसम्म पार्टी एकता गरी सक्ने निर्णय गरेको पनि उनले जानकारी गराए । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल कम्युनिस्ट पार्टी

विशेष