मुख्य समाचार समाज

भूकम्पपछि मुलुक सजग भएको छ : प्रधानमन्त्री ओली 

भूकम्पपछि मुलुक सजग भएको छ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले विपद् व्यवस्थापनको पूर्व तयारीमा राष्ट्रिय नीतिका साथ काम गरिरहेको बताएका छन् । उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प पछि मुलुक सजग भएको समेत बताएका छन् । 

 

 

विपद् व्यवस्थापनसम्बन्धी एसिया प्रशान्त क्षेत्रीय परामर्श समितिको १४ औं बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले भूकम्पले क्षति पु¥याएको संरचनाहरुको पुनस्थापना र पुनर्निर्माणको काम सरकारले अहिले पनि गरिरहेको बताए । 

अन्य मुलुकका अनुभवलाई समेत ध्यान दिएर समुदाय र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगमा पुनःनिर्माणमा सरकार गम्भीरताका साथ लागिरहेको बताँउदै प्रधानमन्त्री ओलीले पुनः निर्माणको लागि अन्तराष्ट्यि समुदायले गरेका सहयोगको प्रशांसा गरे ।  

 

 

 

उनले भने, “नेपाल सरकार विपद् जोखिम व्यवस्थापन नीति कार्यान्वयनमा प्रतिबद्ध रहेको छ । प्राकृतिक विपद्बाट बच्न मानवीय तयारी र भौतिक साधनको सङ्कटबाट कसरी बच्ने र  भावी जीवनलाई कसरी अनुकूल बनाउने भन्नेबारेमा हरेक विपद्ले पाठ सिकाइरहेको हुन्छ । 

 

 

 

गृहमन्त्री रामबहादुर थापाले नेपालमा विभिन्न विपद्का कारण दैनिक सरदर तीन जनाको अकालमा ज्यान जाने गरेको बताउँदै विपद्का कारण मानवीय, भौतिक र वातावरणीय क्षति भई गरीबी बढ्ने कारण पनि हुने गरेको बताए । 

उनले हिमाल पग्लने र भारी वर्षाका कारणले पनि विपद् वृद्धि हुने गरेको उल्लेख गरे । गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले विभिन्न प्रकारका विपद्का कारण मुलुकको कूलगार्हस्थ उत्पादनमा करीब दुई प्रतिशतले ह्रास आउने गरेको बताए । 

 

 

एशिया प्रशान्त क्षेत्रमा विपद् व्यवस्थापनसम्बन्धी २६ मुलुकका निकायका प्रतिनिधि र साझेदार संस्थाका प्रतिनिधिबीचको सहभागिता रहेको बैठकमा दीगो विकास र विपद् व्यवस्थापन अनुकूलनबारे छलफल हुनेछ । बैठकमा आरसिसी कमिटिका अध्यक्ष मुहम्मद इड्रे (पाकिस्तान) ले नेपाललाई अध्यक्षता हस्तान्तरण गरे । 
 
तीन दिनसम्म सञ्चालन हुने यस बैठकमा एसियाली विपद् पूर्वतयारी केन्द्रका सदस्य राष्ट्रहरुसहित विश्वका करीब ३० देशका १५० जनाको सहभागिता रहेको छ । 
विपद् व्यवस्थापनसम्बन्धी एशिया प्रशान्त क्षेत्रीय परामर्श समिति विपद् जोखिम व्यवस्थापन र न्यूनीकरण तथा जलवायु अनुकूलनसम्बन्धी क्षमता अभिवृद्धिका सम्बन्धमा छलफल हुनुको साथै अनुभव आदानप्रदान हुने गर्दछ । 

विशेष