राजनीति

 ‘कांग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

 ‘कांग्रेस राजनीतिलाई धर्मसँग मिलाउन चाहँदैन’

काठमाडौं । नेपाली कांग्रेसले राजनीतिलाई धर्मसँग मिलाउन नचाहेको स्पष्ट गरेको छ । पार्टीको कार्यसूची धर्म नभएको र धर्म बोकेर राजनीति नगर्ने पार्टीको भनाइ छ । महासमिति बैठकपछि पार्टीले विभिन्न समूहसँग गरिरहेको अन्तरक्रियाकै क्रममा आज पत्रकार एवं बुद्धिजीवीसँग भएको भेटघाटमा पार्टीले दलित, जनजाति, मधेशी, महिला, अल्पसङ्ख्यक र सबै धर्म र विचारको संरक्षण गर्न चाहेको जनाएको छ । 

 

सो अवसरमा पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी र पारदर्शी पार्टी भएको बताए । उनले एक प्रसङ्गमा निर्मला पन्त हत्या प्रकरणमा काँग्रेस वा कम्युनिष्ट वा प्रहरी जो दोषी भए पनि छाड्न नहुनेमा जोड दिँदै पत्रकारले पनि दोषी खोज्न सहयोग गर्नुपर्ने बताए । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले ‘निमुखालाई न्याय र विपन्नलाई आय’ नै सच्चा समाजवाद हो र समाजवाद मिसिएको लोकतन्त्र नै सच्चा समाजवाद हो भन्दै पार्टीले कम्युनिष्टहरुसँग समाजवादबारे बहस गर्न चाहेको स्पष्ट गरे । पार्टीले राजनीतिलाई सिद्धान्तमा उभिने र सम्मानित बनाउन चाहेको पनि उनले बताए । 

 

महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्टहरुले आफूँसँग जति छ त्यसलाई बराबरी वितरण गर्न चाहेको तर काँग्रेसले उत्पादन वृद्धि गरी बराबरी बाँड्न चाहेको भन्दै दुई दलको समाजवादको परिभाषा यसरी नै फरक भएको विचार व्यक्त गरे । 

 

पार्टी उपसभापति विमलेन्द्र निधिले आगामी दिनमा सदन र संसद्मा पार्टीको भूमिका बढाइने, प्रशिक्षण एवं संगठन सुदृढ गरिने तथा निर्वाचन जित्न निरन्तर तयारी गरिने जानकारी दिए । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीले पत्रिकाका स्तम्भकार, नागरिक समाज आदिसँग निरन्तर अन्तरक्रिया गरिरहेको र आगामी दिनमा पनि सुझावहरु लिइरहने बताए ।   

नेपाली काँग्रेस धर्म

विशेष