राजनीति

एकीकरणका लागि नेकपाको अर्को शक्तिशाली कार्यदल गठन

एकीकरणका लागि नेकपाको अर्को शक्तिशाली कार्यदल गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले प्रदेश कमिटीको नामावली हेरफेर गर्नेदेखि जिल्ला एकीकरण र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्मको ठोस प्रस्ताव तयार पार्ने भएको छ । संगठनात्मक एकता तथा एकीकरणका सम्बन्धमा गृहकार्य गर्न गत १२ पुसको स्थायी समिति बैठकले शक्तिशाली कार्यदल गठन गरेको हो । 


प्रदेश कमिटीको एकीकरणमा मापदण्ड पूर्ण रूपमा पालना नभएको, जिल्ला र जनसंगठनको एकीकरणमा ढिलाइ भएको भन्दै नेतृत्वको आलोचना भएपछि बैठकले पुस मसान्तभित्र एकीकरण सक्ने गरी प्रस्ताव तयार पार्न कार्यदल बनाएको हो । 

 

कार्यदलमा तीन समूहको प्रतिनिधित्व 
९ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । यीमध्ये पौडेल, पोखरेल र महासेठ अध्यक्ष ओलीनिकट हुन् । थापा र भट्टले पूर्वमाओवादी समूहको प्रतिनिधित्व गर्छन् भने भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपालनिकट छन् ।

 

दश दिनभित्र एकीकरणको ठोस प्रस्ताव
कार्यदललाई कम्तीमा दश दिनभित्र एकीकरणको बाँकी कामको मापदण्ड र आधारसहित पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्न मिल्ने गरी ठोस प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 

‘आजको दिनबाट पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्न मिल्ने गरी एकीकरणको प्रस्ताव तयार पार्ने जिम्मेवारी कार्यदललाई दिइएको छ,’ श्रेष्ठले  भने, ‘प्रदेश कमिटीहरूमा कति छन्, यसअघि तय गरिएको मापदण्डअनुसार नामावली छ कि छैन, कतिपय नाम परिवर्तन गर्न मिल्छ कि मिल्दैन, सबै हेरेर सुझाबसहितको प्रतिवेदन कार्यदलले बुझाउनेछ ।’ अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई प्रतिवेदन बुझाएपछि एकीकरणको ठोस प्रस्ताव सचिवालय हुँदै पुस मसान्तभित्र स्थायी समितिबाट निर्णय गर्ने नेकपाको तयारी छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

नेपाल कम्युनिस्ट पार्टी

विशेष