मुख्य समाचार राजनीति

सभापति चयन सर्वसम्मत हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने माग : कांग्रेस बैठक 

सभापति चयन सर्वसम्मत हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने  माग : कांग्रेस बैठक 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा पार्टी सभापति सर्वसम्मत चयन गर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव पेश गरिएको छ । 

 

 

 

पार्टीको मंगलबारको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफलमा भाग लिँदै केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी सभापति सर्वसम्मत चयन हुनुपर्ने व्यवस्था विधानमै गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् । 

 

 

पार्टी भित्रको गुट, उपगुट देखापरेको भन्दै त्यसको अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाएर लैजाने पनि सभापति सर्वसम्मत चयन हुनुपर्ने उनको भनाई छ । 

त्यसैगरी अर्का केन्द्रिय सदस्य धनराज गुरुङले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउने किटानी व्यवस्था विधाननै गर्नुपर्ने आवश्यक्ता औंल्याए । 

 

 

पार्टी विधिसम्मत ढंगले अघि नबढेका कारण कांग्रेस कमजोर हुन पुगेको उनको भनाई थियो । केन्द्रिय सदस्य गुरुङले पार्टीलाई विचार प्रदान गराउन पनि बाध्य बनाउने व्यवस्था विधानमा गर्न उपयुक्त हुने धारणा पनि राखे । 

 

 

केन्द्रिय सदस्य उमाकान्त चौंधरीले विधानमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरे । केन्द्रिय सदस्य बढाउनुपर्ने प्रावधान विधान मस्यौदामा राखिएपनि पदाधिकारी संख्या भने बढाउने प्रस्ताव नगरेकोमा उनको असन्तुष्टि छ ।

बैठकमा पार्टीको विधान मस्यौदामाथिको छलफल जारी छ । पार्टीको आगामी मंसीर २८ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गरिने विधान संशोधन मस्यौदामा केन्द्रित भएर बैठक चलिरहेको हो । 


महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको विधान संशोधन मस्यौदा समितिले केन्द्रीय समितिमा पेश गरेको मस्यौदामा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असहमति जनाउँदै सभापतिलाई दिइएको अधिकार कटौटी गर्नुपर्ने, पदाधिकारी संख्या बढाउनुपर्नेल गायतका माग राखेको छ ।

बैठकमा असहमतिका पक्षलाई पनि छलफल गरेर सो मस्यौदालाई टुंगो लगाउने तयारी गरिएको छ । 

विशेष