मुख्य समाचार राजनीति

सङ्घीयता मुलुक सुहाँउदो छ : सभामुख महरा

सङ्घीयता मुलुक सुहाँउदो छ : सभामुख महरा

उदयपुर  । सभामुख कृष्णबहादुर महराले नेपालको संङ्घीयता मुलुक सुहाँउदो भएको बताएका छन् । उनले  नेपालको संङ्घीयता अन्य देशको भन्दा नितान्त फरक र आफ्नै देशको परिवेशमा आधारित रहेको बताए ।

 

 

उदयपुरको गाईघाटमा मंगलबार आयोजित संविधान, सङ्घीयता कार्यान्वयन र अन्तर सम्बन्ध विषयक अन्तक्र्रिया कार्यक्रममा सभामुख महराले नेपाल बहुभाषी, बहुजाती र बहुधार्मिक देश हुनाले पनि हाम्रो सङ्घीयता आफ्नै मौलिक प्रकारको रहेको बताए । 

 

 

जनप्रतिनिधिले सङ्घीयताको नाममा अन्य मुलुकको नहेरी आफनो मुलुकको भौगोलिक , संस्कृति तथा जातीय बनावट हेरेर मात्र हाम्रो मौलिक सङ्घीयता स्वीकार गर्नुपर्ने उनको भनाई छ ।

 

 

सभामूख महराले राज्यको तीनै तहले अधिकार खोज्दा र कुरा गर्दा संविधानले निर्दिष्ट गरेकोमात्र आफूहरुको अधिकार हो भनेर बुझ्न उपस्थित जनप्रतिनिधिलाई आग्रह गरे ।

 

 

कार्यक्रममा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र अधिवक्ता रामबहादुर थापाले समेत नेपालको वर्तमान सङ्घीयता र तीनै तहको अधिकारकारको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।  जिल्ला समन्वय समिति उदयपुरले आयोजना गरेको सो कार्यक्रममा जिल्लाका आठ स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष सहितका जनप्रतिनिधिको उपस्थिति रहेको थियो । 

विशेष