राजनीति

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छः मन्त्री अधिकारी

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्छः मन्त्री अधिकारी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू) ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताएका छन् ।

 

हेलिकोप्टर सोसाइटी अफ नेपालको मंगलबार उद्घाटन गर्दै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरेका हुन् । 

 

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गरे । 

 

उनले भने, ‘इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।’ 

 

सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । 

 

यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो । 

 

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

 

निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उनले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राखे । 

मन्त्री रवीन्द्र अधिकारी

विशेष