मुख्य समाचार राजनीति

राजदूत शेर्पाबारे अनुसन्धान नथाल्नुलाई गम्भिर रुपमा लिएका छौं : कांग्रेस 

राजदूत शेर्पाबारे अनुसन्धान नथाल्नुलाई गम्भिर रुपमा लिएका छौं : कांग्रेस 

काठमाडौं । नेपाली कांग्रेसले अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न भनि उठेको विषयलाई  गम्भिर रुपमा लिएको बताएको छ । कांग्रेसले राजदूत शेर्पाका सम्बन्धमा केहि समय यता ‘मानव तस्करीमा संलग्न’ भनी उठेका प्रश्नको सरकारसँग जवाफ समेत माग गरेको छ । 

 

 

 

‘यो विषय हामीले गम्भीर रुपमा लिएका छौँ । निजकै सहयोगीले यो विषय सार्वजनिक गरेको साता दिन भइसक्दा समेत नेपाल सरकारले गम्भीर चासो प्रकट गरी अनुसन्धान नथाल्नु र मौनता राख्नुलाई हामीले झनै गम्भीर र दुःखद रुपमा लिएका छौं’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् । 

 

 

 

कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘कुनै पनि देशमा प्रतिनिधित्व गर्ने राजदूत व्यक्तिगत जागिर नभई सिंगो राष्ट्र र राष्ट्रकै छविको प्रतिनिधित्व गर्ने गरिमामय जिम्मेवारी हो । अतः राजदूतका बारेमा उठेको प्रश्न उपर तत्कालै सत्य तथ्य निरुपण गर्ने कर्तव्य नेपाल सरकारको रहेको स्मरण हामी गराउन चाहन्छौं ।’ 

 

 

 

कांग्रेसले सो विषयलाई लिएर तत्कालै आवश्यक छानबिन गर्न माग समेत गरेको छ । उसले राजदूत शेर्पालाई छानबिनका लागि तत्काल परराष्ट्र मन्त्रालयमा उपस्थित गराउन र दोषी ठहरिए बर्खास्त गर्ने कदम चाल्न समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

शेर्पा राजनीतिक भागबन्डामा नेकपा माओवादीको कोटामा अस्ट्रेलियाको राजदूत नियुक्त भएकी थिईन् । 

विशेष