मुख्य समाचार राजनीति

सार्कलाई पुनर्जीवन दिन शिखर सम्मेलन महत्वपूर्णः प्रधानमन्त्री

सार्कलाई पुनर्जीवन दिन शिखर सम्मेलन महत्वपूर्णः प्रधानमन्त्री

काठमाडौ‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई पुनर्जीवन दिन तथा शिखर सम्मेलन समयमै आयोजना गर्न अतिमहत्वपूर्ण भएको बताएका छन् ।

 

सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्क स्थापनाको ३४ औं वार्षिकोत्सवका अवसरमा दिएको सन्देशमा सार्क प्रक्रियालाई गतिशील तुल्याउन शिखर सम्मेलन अतिमहत्वपूर्ण भएको बताएका हुन् । 

 

सार्कको संस्थापक मुलुक तथा वर्तमान अध्यक्षका नाताले नेपाल परराष्ट्र नीतिको प्राथमिकताअनुरुप सार्कको बडापत्र, यसका सिद्धान्त र उद्देश्यप्रति प्रतिबद्ध रहेको उनले बताए ।

 

सार्कको बडापत्रले आर्थिक समृद्धिदेखि सामजिक–सांस्कृतिक विकास, सदस्य राष्ट्रको साझा लाभ र हितजस्ता महत्वपूर्ण उद्देश्यलाई सम्मिलित गराएको बताउँदै प्रधानमन्त्री ओलीले त्यसका सिद्धान्तले दक्षिण एशियामा क्षेत्रीय सहयोगका निम्ति सुदृढ आधार खडा गरेको उल्लेख गरेका छन् । 

 

सन् १९८५मा सार्क स्थापना भएयता क्षेत्रीय सहयोगका विविध क्षेत्रमा सङ्गठनले प्रगति गरेकामा खुशी व्यक्त गर्दै उनले सदस्य देश र दक्षिण एशियाका जनतामा हार्दिक शुभकामना बधाई तथा ज्ञापन गरेका छन् ।

 

“दक्षिण एशिया साझा इतिहास, साझा सामाजिक संरचना तथा सांस्कृतिक सम्पदा र भौगोलिक निकटताले एकसाथ जोडिएको छ, विकासका लागि यहाँ उपलब्ध अथाह सम्भावना र अवसरले सँगसँगै अघि बढ्न र सहकार्यका निम्ति थप गति प्रदान गरेको छ,” प्रधानमन्त्रीले भनेका छन् । 

 

वर्तमान विश्वले गरिबी, असमानता तथा जलवायु परिवर्तनजस्ता कैयौं चुनौतीको सामना गर्नुपरेको बताउँदै प्रधानमन्त्री ओलीले तिनलाई नियन्त्रण गर्न विश्वव्यापी एवं क्षेत्रीय प्रयास अपरिहार्य भएका बताए ।

 

सन्देशमा उनले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकल्प नभएर अनिवार्य आवश्यकता भएको उल्लेख गर्दै दक्षिण एशियाली देशको साझा मञ्च सार्कले सदस्य राष्ट्रबीच समझदारी अभिवृद्धि, विकास र समृद्धिका निम्ति मार्ग प्रशस्त गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।

 

क्षेत्रीय सहयोगको औचित्य बढीरहेको परिप्रेक्ष्यमा सदस्य देशले सार्कलाई गतिशील क्षेत्रीय सङ्गठनका रुपमा अघि बढाउन उच्चस्तरीय प्रतिबद्धता प्रस्तुत गर्नुपर्नेमा प्रधानमन्त्री ओली जोड र्दिए ।
 

प्रधानमन्त्री केपी शर्मा ओली सार्क

विशेष