मुख्य समाचार राजनीति

अन्तर प्रदेश बैठकमा प्रधानमन्त्रीले भने -संघीयता नयाँ खेल हो, तर यसमा हामी च्याम्पियन सावित हुनेछौं

अन्तर प्रदेश बैठकमा प्रधानमन्त्रीले भने -संघीयता नयाँ खेल हो, तर यसमा हामी च्याम्पियन सावित हुनेछौं

काठमाडौं ।सिंहदरबारमा पहिलोपटक बसेको अन्तर प्रदेश परिषदको बैठकमा प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रूपमा बलियो बनाउन आफैं लाग्नु पर्ने बताएका छन्।


आइतबारको बैठकमा चार जना मुख्यमन्त्रीले धारणा राखिसकेपछि प्रधानमन्त्री ओलीले केहीबेर सम्वोधन गरेका थिए ।

 संघीयताको अभ्यास नयाँ भएकाले यसमा चुनौतीहरु आउनु स्वाभाविकै भएको भन्दै उनले सबै तह मिलेर अघि बढ्नु पर्ने बताए ।

 

मुख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्’, प्रधानमन्त्री ओलीले  भने, ‘अहिले तिनलाई व्यवहारिक रूपमै प्रयोग गर्नुपर्दा केही असजिलो महशुस गरेका हौला। खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन। अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ। हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो। तर यसमा हामी च्याम्पियन सावित हुनेछौं।’


कानून निर्माणको चुनौती प्रदेशहरुमा मात्रै नभएर संघमा समेत रहेको भन्दै प्रधानमन्त्री ओलीले फागुनसम्म केन्द्र सरकारले बनाउने कानूनहरु निर्माण भइसक्ने बैठकमा बताए ।

अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले संघीयता कार्यान्वयनका लागि सरकारको गति भने बढाउनुपर्ने बताएका हुन् । ‘हामी गलत बाटोमा गएका छैनौं । संघीयता कार्यन्वयनमा गति बढाउन बाँकी छ’ प्रधानमन्त्री ओलीले भने ।


आजको बैठकमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई,प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत,प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सूब्बा गुरुङले आफ्ना धारणा राखे। बाँकी तीनवटा प्रदेशका मुख्यमन्त्रीहरूले भोलिको बैठकमा  आफ्ना धारणा राख्ने कार्यक्रम छ।

बैठक भोलि १० बजे सिंहदरबारमा बस्नेछ ।

विशेष