सरकारले आन्दोलन निम्त्यायो : सभापति देउवा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीले आफूहरूलाई आन्दोलनमा निम्त्याएको बताएका छन् । ४३औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देउवाले संविधान बनेपछि यसको कार्यान्वयन गर्दै देशमा विकास र समृद्धि चाहे पनि सरकार अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाए ।
‘मेलमिलापको सान्दर्भिकता हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । तर, सरकारले मेलमिलाप होइन, तानाशाही लाद्न खोजेको छ । कर्मचारीविरुद्ध अध्यादेश ल्याइएको छ । पुलिस, सेना सबैतिर हस्तक्षेप गर्न सरकार उद्यत छ,’ देउवाले भने, ‘हामी स्वतन्त्र न्यायपालिका, तटस्थ ब्युरोक्रेसी, सेना र प्रहरी चाहन्छौँ, तर सरकार अधिनायकवादी बाटोमा अघि बढेको छ । यस्तो हुँदा अब सरकारले नै आन्दोलनका लागि निम्त्याएको छ ।’
आफ्नो नेतृत्वमा निर्वाचन भएर संविधानको स्वीकार्यता बढेको भन्दै देउवाले सबै मिलेर जानुपर्नेमा सरकारले सबै क्षेत्रमा तानाशाही प्रवृत्ति देखाएको आरोप लगाए । ‘संविधान च्यातिँदा, फालिँदा मैले सबैलाई निर्वाचनसम्म ल्याएँ,’ उनले भने । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
नेपाली काँग्रेस