राजनीति

नेता पौडेल भन्छन्, ‘कांग्रेस क्यालेन्डरमा चल्यो भने कम्युनिस्ट पल्टन्छ’  

नेता पौडेल भन्छन्, ‘कांग्रेस क्यालेन्डरमा चल्यो भने कम्युनिस्ट पल्टन्छ’  

गोरखा । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस आफ्नो समय तालिका (क्यालेन्डर) मा चल्यो भने कम्युनिस्ट शासन पल्टने दाबी गरेका छन्। ‘कम्युनिस्ट फेल भएपछि पालो आउँछ र सफल हुन्छ भनेर कुर्ने होईन, कांग्रेस क्यालेन्डरमा मात्रै चले पुग्छ।’ ४२ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस गोरखाले सोमवार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने ‘त्यो भनेको समयमै पार्टीका सबै काम गर्ने हो।’

 

पार्टी भित्रको एकतालाई लक्षित गर्दै नेता पौडेलले भने ‘न्याय, निष्पक्षता र पारदर्शीतामा एकता हुन्छ, मुखले भनेर, हात मिलाएर मात्रै एकता हुँदैन।’ आफुले कसैलाई काखापाखा गरेको भए बताउन अनुरोध गर्दै उनले कुनैपनि नेताले कार्यकर्तालाई काखापाखा नगरी नीति, कार्यशैली र विषयमा केन्द्रित रहँदै पार्टीभित्र एकता कायम गर्नुपर्नेमा जोड दिए।

 

पार्टी भित्र विपीले भनेको मेलमिलापको नीति आजपनि उत्तिकै आवश्यक रहेको बताउँदै उनले जे नराम्रो गरेपनि जयजयकार गर्ने प्रवृत्तीबाट मुक्त हुन कार्यकर्तालाई अनुरोध गरे। उनले भने ‘आफ्ना कुरा, नीति बारे प्रष्ट हुनुहोस्, जे गरेपनि जयजयकार गर्ने प्रवृत्ती हटाउनुहोस्।’ यो समाचार नागरिक दैनिकबाट लिइएको हो । 

नेपाली काँग्रेस रामचन्द्र पौडेल

विशेष