चित्रबहादुर केसीको संशय: दूलही भित्र्याउँदैमा बैबाहिक सम्बन्ध सप्रियो भन्न कहाँ मिल्छ ?
सुष्मा स्वराज केपी ओलीलाई छाम्न आइन्
काठमाडौं । ‘संघीयता चाहिँदैन’ भनी आवाज उठाउँदैआएका नेता चित्रबहादुर केसी अध्यक्ष रहेको पार्टी राष्ट्रिय जनमोर्चाले पछिल्लो चुनावमा पराजय ब्यहोर्नुपर्यो ।
मुलुकमा संघीयता लागू भइसक्दा पनि केसी यसको विरोधमै छन् । यतिसम्म कि, नेकपा एमाले, कांग्रेस लगायत पार्टीका प्रमुख नेताहरुलाई स्वयं संघीयता लागू गरेकोमा पछुतो भएको उनको बुझाइ छ ।
‘स्वयं संघीयता ल्याउने दलहरुलाई नै अहिले ब्यर्थ ल्याइएछ भन्ने महसुश भएको छ,’ केसीले नेपालआजसँग भने, ‘संघीयता नेपाली जनतालाई चाहिएको हो र ? यसले आफ्नो चरित्र त देखाउनै बाँकी छ । अहिले नै त के भइसकेको छ र ! बाहिरबाट थुपरिएकोले ल्याइहाले अहिले घाँडो भएको छ ।’
चुनावी अनुभव
नेपालआजको स्टुडियोमा अन्तरवार्ता दिन आएका केसीसँग सुरुमै चुनावी अनुभव सोधिएको थियो । उनले आफ्नै शैलीमा भने, ‘त्यति पुरानो पार्टी कांग्रेस, जो सत्तामै थियो, ले त हार्यो । हामीले हार्दा त के आश्चर्य भयो र ।’
यसमा आफ्नो पार्टीको संगठन चुस्त हुन नसकेर चुनावमा आफूहरु खट्न नसक्नु पनि कमजोरी रहेको केसीको अनुभव थियो । केसीले व्यक्तिगत रुपमै जनतासँग आफूहरु जान नसकेको भन्दै आत्मसमीक्षा समेत गरे ।
भारतीय हस्तक्षेप
केसी ‘भारतविरोधी नेता’को रुपमा पनि चिनिन्छन् । नेपालमा निरन्तर ‘भारतीय हस्तक्षेप भएको’ भनी त्यसको विरोध धेरैपटक संसदमै गरेका छन् उनले ।
संविधान निर्माण र जारी गर्ने क्रममा पनि भारतीय हस्तक्षेप भएको उनको भनाइ थियो । त्यसबेला नेपाली कांग्रेसले भारतीय पक्षको लाभमा काम गरिरहेको भन्दै भारतीयहरु ‘यहीँ छाप्रो हालेर बसेको’ बताए ।
केपी सरकारका उपप्रधानमन्त्री
लामो समय सरकारको विरोध गर्दै प्रतिपक्षी भुमिकामा रहेका केसी केपी ओली नेतृत्वको तत्कालिन सरकारमा भने उपप्रधानमन्त्रीको रुपमा सामेल भए ।
भारतीय पक्षबाट नेपालको राजनीतिमा हस्तक्षेप गरेर संविधान जारी गर्न नदिने षड्यन्त्र गरेपछि त्यसविरुद्ध उभिन सामेल भएको उनको तर्क छ । सो क्रममा केहीले उनको आलोचना गरे पनि फरक परिस्थिति भएको उनी बताउँछन् ।
त्यसो त, संसदमा रहेदेखि नै केसीलाई पटक पटकका सरकारमा सामेल हुने अवसर आएका थिए । तर धन–सम्पत्तिको लागि राजनीति नगरेको केसीको भनाइ छ ।
भरतीय नाकाबन्दीको क्रममा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्ड भने फसेको र भारतसँग बिकेको केसीको दाबी छ । पछिल्लो समय भारतीय विदेशमन्त्री शुष्मा स्वराज नेपाल आउनुको कारणबारे पनि उनले कडा टिप्पणी गरे ।
स्वराज नेपालमा फेरि पनि केही गर्न सकिन्छ की भनेर केपी ओली र प्रचण्डलाई छाम्न आएको उनले बताए ।