समानुपातिक सांसदमा चार दलले सोमबार टुङ्गो लगाउने
नेपाली कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फबाट सांसद बन्नेको नाम सोमबार टुंगो लगाउँदैछन् ।
निर्वाचन आयोगले दिएको समय आज सकिने भएकाले दलहरुले नाम टुंगो लगाइ आयोगमा बुझाउन लागेका हुन् । अहिलेसम्म एमालेले मात्र आफ्नो तर्फबाट समानुपातिक सांसद बन्ने ४१ जनाको नाम बुझाएको छ । कांगेसले ४०, माओवादी केन्द्रले १७ तथा राजपा र संघीय समाजवादी फोरमले समानुपातिकतर्फबाट ६–६ जना सांसद पठाउनुपर्नेछ ।
संघीय संसदमा कम्तिमा ३३ प्रतिशत महिला हुनैपर्ने संवैधानिक व्यवस्था भएकाले त्यही अनुसार नाम सिफारिस गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । जसअनुसार कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजवादी फोरमले ५ जना महिलाको नाम पठाउनैपर्ने निर्वाचन आयोगले जनाएको छ ।
एमालेले आइतबार पठाएको ४१ जनाको नाममा ३७ जना महिला र ४ जना पुरुष छन् । दलहरुले नियम अनुसार नाम पठाए आजै नाम सार्वजनिक गर्ने तयारी रहेको आयोगले जनाएको छ ।