‘ओलीको राष्ट्रवादी लाईन पनि देखियो, दाह्री पालेको रहेछ !’
वाम एकताको मुखमै भारतीय राजदूतसँग किन भेटे ओलीले ?
काठमाडौं । वाम एकता अभ्यास निष्कर्षमा पुगेकै बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमै पुगेर पुरीले ओलीलाई भेटेका हुन् । पुरीले हिन्दु धर्मावलम्वीहरुको महान चाड शिवरात्रीको अवसरमा सुभकामना समेत दिए ।
उनीहरु दुईबीच केहीबेर पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे पनि गम्भीर छलफल भएको थियो । ओलीले पुरीसँगको भेटमा वाम एकता निष्कर्षमा पुगेको बताएका थिए ।
राष्ट्रवादी ओली !
वाम एकता निष्कर्षमा पुगेकै बेला ओलीले अचानक भारतीय राजदूतसँग भेटेको कुरालाई राजनीतिक विश्लेषकहरुले भने आलोचनात्मक रुपमा ब्याख्या गरेका छन् ।
ओलीको ‘राष्ट्रवादी लाईन’को कडा रुपमा उनीहरुले आलोचना गरेका छन् ।
मंगलबार जब पुरी र ओलीबीच भेटवार्ता भयो, नेकपा एमाले निकटस्थ केही विश्लेषकहरु सिंहदरबारमै थिए । ओलीलाई भेट्न पुरी भित्र छिरेपछि केही बेरका लागि सुरक्षा व्यवस्था कडा पारियो ।
ओलीलाई भेट्न पर्खिरहेका थुप्रै नेता–कार्यकर्ता तथा अन्य सुभचिन्तकहरुले अरु केही घण्टा पर्खनुपर्ने भयो । यस्तो अवस्थामा ओलीको भारतीय राजदूतसँगको भेटलाई रोचक पारामा ब्यंग्य समेत गर्न थालेका छन् ।
‘ओलीको राष्ट्रवादी लाईन पनि देखियो नी !’, संसदीय दलको कार्यालय परिसरमा भेटिएका एमालेकै एक नेताले भने, ‘दाह्री पालेको रहेछ । हामीलाई हटाएर भित्र छिर्यो ।’
पछिल्लाे समय भारतीय प्रबृत्तिको विरोध गर्दै चर्चा कमाएका पूर्वप्रधानमन्त्री केपी ओलीको भारत सम्बन्धबारे बेला बेला अनेक किसिमका टिप्पणी हुन्छन् ।
यही शिलशिलामा प्रधानमन्त्रीको पदको पर्खामा रहँदा थाइल्याण्डमा पुगेर भारतीय प्रतिनिधिसँग भेट गरेका थिए । त्यसलगत्तै भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग नेपालमै भेटे ।
ओलीले ‘आफ्नो फेस सेभिङ’ का लागि सुष्मा स्वराजलाई नेपाल बोलाएका केहीको बुझाइ छ । विश्लेषक अरुण कुमार सुवेदीका अनुसार ओली नाकाबन्दीको बेला भारतको विरोध गरे पनि असली रुपमा भारतसँग मित्रता भएकै नेता हुन् ।
त्यसैमाथि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको सम्बन्ध राम्रो रहँदैआएको हो । भारतसँग सम्बन्ध सुधार्नुलाई सुवेदी मुलुकका लागि सकारात्मक रहेको ठान्छन् ।
मधेसी दलका नेताहरु भने ‘ओलीले भारतको विरोध गरेर नाटक मात्रै देखाएको’ बताउँछन् । राजपाका नेता डा. सुरेन्द्र झा भन्छन्, ‘यदी कोही भारतीय दलाल छ भने, त्यो ओली नै हो ।’
एमालेभित्रै टिप्पणी
त्यसो त, नेकपा एमालेभित्रै उनको भारत साइनोलाई लिएर शंसयका साथ हेरिँदैआएको छ । माधव नेपालनिकट नेताहरु ओलीको भारत सम्बन्धलाई उचित ठान्दैनन् ।
प्रधानमन्त्री छँदा भारतको चर्को विरोध गरेका ओली अचानक भारतसँग नजिकिएको बुझाइ माधव नेपाल समूहको छ । एक नेताले भने, ‘भारतसँग नझुकिकन नहुँदो रहेछ, किन त्यति बिघ्न गाली गर्नु परेको !’