राजनीति भिडियो

पुनर्निर्माण प्राधिकरण प्रमुख भुसालका गोप्य कुरा: हेमा मालिनीबाट प्रभावित (भिडियो)

ज्योतिषको सल्लाह सधैँ शिरोपर

पुनर्निर्माण प्राधिकरण प्रमुख भुसालका गोप्य कुरा: हेमा मालिनीबाट प्रभावित (भिडियो)

काठमाडौं । हँसिलो चेहरा, फरासिलो बोलीचाली । प्रष्ट धारणा राख्ने शैली युवराज भुसालको आफ्नैपन हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत युवराज भुसाल गुल्मीमा जन्मिएर हुर्किए । पोखराको पिएन क्याम्पसमा पढे ।

 

सानैदेखि अब्बल थिए उनी । सधैँ प्रथम हुन्थे । क्याम्पस पढ्ने बेला पनि दोस्रो हुनु परेन । पढाइ केही समय रोकेर हेडमास्टरको जागिर पनि खाए उनले । तर पढाइ निरन्तर बनाए ।

 

भुसालका यी अनेक अन्तरकुन्तरका कुराहरु हामीले उधिनेका छौँ । केही साताअघि उनी नेपालआजको स्टुडियोमा आएर आफ्नो जीवनशैली, भोगाइ, परिवार, सन्तान, सम्बन्ध बारे खुलेर भिडियो अन्तरवार्ता दिएका छन् ।

 

अध्यात्म जीवन

भुसाल अध्यात्ममा विश्वास गर्छन् । उनको सिंगो परिवार नै अध्यात्मिक र धार्मिक छ । उनीहरु विधिपूर्वक पूजापाठ, धर्मकर्म र आराधना गरिरहन्छन् ।

 

ज्योतिष विज्ञानप्रति पनि उनलाई विश्वास छ । त्यसो त, भुसालका चिकित्सक छोरा समेत ज्योतिष विज्ञानमा पोख्त छन् । उनी हस्तरेखा र चिना समेत हेरेर भविष्यफल पत्ता लगाउँछन् । रोचक त के भने, कहिलेकाहीँ परिवारका लागि कुसमय छ भने उनीहरु आपसमा बोल्दैनन् र शान्त रहन्छन् ।

 

नेता पौडेलका सम्धी

भुसाल र नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सम्धी हुन् । भुसालकी छोरी पौडेलकी बुहारी हुन् ।

 

एक कुशल प्रशासक र नेताबीचको नयाँ सम्बन्ध पनि अनौठो तरिकाले गाँसिएको थियो । भुसालकी छोरी भारतमै पढ्ने बेला पौडेलकी छोरी उनकी साथी थिइन् । उनकै पहलमा पौडेलका छोरासँग बिहेको कुरा चल्यो ।

 

पछि पारिवारिक भेटघाट भयो । अन्ततः दुई परिवारका अभिभावकबीच औपचारिक कुरा भएपछि ‘एरेन्ज म्यारिज’ भयो ।

 

भुसालले नेपालआजसँगको अन्तरवार्तामा पौडेलसँगका रोचक सम्वाद पनि ‘शेयर’ गरेका छन् । पौडेल छोराको बिहेका लागि भुसालको घरमा पुग्दा कस्ता कुरा भए भनी हामीलाई भिडियोमा सुनाएका छन् ।

 

यो सम्बन्धको पछाडि कांग्रेसकै नेत्री पुष्पा भुसाल र चोपलाल भुसाल, जो युवराजका नातेदार पनि हुन्, उनीहरुको पनि भुमिका थियो ।

 

भुसालको युवावस्था

युवावस्थामा भुसाल अनुसाशित थिए । अराजक जीवनशैलीले कहिल्यै उनलाई आकर्षित गरेन । जाँडरक्सी, जुवातास जस्ता बानीप्रति उनलाई रुची भएन । अभिभावकको भनाइलाई सधैँ पछ्याइरहे ।

 

त्यसो त, कलेजमा पनि शिक्षकहरुको प्रिय विद्यार्थी थिए उनी । कलेजलाईफमा केही युवती भने युवराजप्रति आकर्षित थिए रे । नोट माग्ने बहानामा ती भुसालको कोठामै छिर्थे रे । नजिकिन चाहन्थे । ती युवतीलाई भुसाल अझै सम्झन्छन्, ‘कुम जोड्न खोज्थे ।’

 

किशोरावस्थामा सुन्दर युवती नजिकिँदा भुसाल कसरी अघि बढे भन्नेबारे पनि भुसालले नेपालआजसँग खुलेर बोलेका छन् ।

 

प्रशासकीय भुमिका

३० वर्षभन्दा बढी समय प्रशासनीक क्षेत्रमा अनुभव बोकेका भुसाललाई नेपाली कांग्रेसको सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेपछि ‘रामचन्द्र पौडेलका सम्धी’ को ट्याग लगाइयो ।

 

तर भुसाल आफैँ यस पदका लागि ‘डिजर्भिङ’ थिए । अन्तर्राष्ट्रिय संस्थाहरुमा काम गरेको अनुभव, दातृ निकायसँगको समन्वय क्षमता, प्रशासनीक कौसलका कारण भुसाल आफैँ यस पदका लागि योग्य हुन् ।

 

तर नेताको नाम जोडेर आरोप लगाइएको प्रति भुसालको अझै गुनासो छ ।

 

घुमफिर

नेपाल सरकारको कामबाट रिटायर्ड भएका भुसाललाई सरकारले विशेष परिस्थितिमा राष्ट्रिय पुननिर्माण प्राधिकरणमा नियुक्त गरेको हो ।

 

यसअघि उनी फुर्सदिलो नै थिए । फुर्सदमा उनी लामो यात्रा गर्न रुचाउँछन् । थुप्रै देश समेत घुमिसकेका उनी भारतका केही लोकेशनले लोभ्याएको बताउँछन् ।
र अझै पनि समय मिल्यो भने घुम्न निकै सोख भएको बताउँछन् ।

 

घुम्ने क्रममा थुप्रै ठाउँ पुगे पनि जापानको आतिथ्यता र थाइल्याण्डको समुद्री किनार भुसालका प्रिय चिज बनेका छन् ।

 

फिल्म

पाकिस्तानी फिल्म ‘हकिकत’ बाट असाध्यै प्रभावित छन् उनी । धेरै वर्षअघि उनले हेरेको त्यस फिल्मको ‘थीम’ साह्रै मन परेको सुनाए ।

 

राजेश खन्ना, हेमा मालिनी, कादर खान लगायत कलाकारको अभिनयले उनलाई तानेकै रहेछ । नेपाली फिल्म सिन्दुर पनि उनको प्रिय फिल्म रहेछ । त्यसो त उनी अचेल पनि समय मिल्यो भने फिल्म हेरिरहन्छन् । श्रिमतिको साथमा प्रायः फिल्म हेरेका छन् उनले ।

 

सम्पत्ति

भुसालका बाजे र बावुको सम्पत्ति राम्रै थियो र छ । उनको परिवार अर्घाखाँची जिल्लामै ‘खानदानी’ मानिन्छ । काठमाडौंमा बनेको उनको घर पनि बावुकै सम्पत्तिबाट बनेको बताउँछन् ।

 

तर उनलाई सम्पत्तिप्रति आशक्ति नरहेको बताउँछन् । सात्विक भोजनबाट निर्देशित उनी र उनको परिवार तडकभडक भने रुचाउँदैन रे । सामान्य जीवनयापन जतिले पुग्छ त्यही नै काफी भएको उनको भनाइ छ ।

 

विशेष