सेतो केक–रातो चेरी खाएपछि प्रचण्डले माओवादीलाई यसरी खाओवादी बनाए
माओवादीको उराठलाग्दो जनयुद्ध दिवस
रोहित
काठमाडौं । माओवादी केन्द्रले आफ्नो २३ औं जनयुद्ध दिवस मनायो । जनयुद्धपछि केही वर्षसम्म साँच्चिकै ‘जनयुद्ध दिवस’ थिए । यसपटक त यस पार्टीले ‘जनयुद्ध दिवस’ भन्दा पनि जनयुद्धको श्राद्ध गर्यो ।
यो वार्षिक ‘कर्मकाण्डी श्राद्ध’ नै थियो । यसका लागि माओवादी केन्द्रका नेता–कार्यकर्ता पेरिसडाँडामा भेला भए ।
रोचक त के भने श्राद्धमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले केक काटेर खाए, खुवाए । गडगडाहट तालीका बीच उनीहरु रमाएर स्वादिलो केक स्वादन गरेको यो दृश्य साँच्चिकै उराठलाग्दो थियो ।
पुरानो प्रसंग
माओवादीको नाम ‘एकीकृत नेकपा माओवादी’ छँदासम्म जनयुद्ध दिवस भव्य रुपमै मनाइन्थ्यो । हरेक वर्ष फागुन १ गते खुलामन्चमा माओवादी कार्यकर्ता भेला भएर दिनभर भाषण, जनसांस्कृतिक नाच–गान हुन्थ्यो ।
कार्यकर्ताको उत्साह उस्तै थियो । रत्नपार्कमा दिनभर बदाम खाएर उनीहरु आफ्ना नेताको भाषण सुनेर ताली बजाउँथे ।
कम्तिमा आफू सामेल भएको त्यस युद्धको सम्झना हजारौँ कार्यकर्ता र तीनको परिवारका लागि प्रिय पक्कै हुन्छ । त्यस भन्दा पनि शहिद परिवारका लागि दिवस मनाउनु एउटा सम्मान र श्रद्धा हो ।
सबैलाई सम्झना छ, प्रारम्भिक दिवसहरु खुलामन्चमा दिनभर भव्यतासाथ मनाइन्थ्यो । नेताहरु एउटै मन्चमा उभिएर बोल्थे । आखिर युद्धमा होमिनेहरुलाई अहिले हारेको अनुभुति भए पनि खुलामन्चको भाषणले आत्मवल दिन्थ्यो नै । त्यहाँ प्रचण्ड, डा. बाबुराम भट्टराई, मोहन बैद्य लगायत युद्धका अगुवा नेताहरु हुन्थे ।
यसपटक भने माकेले नाटकीय ढंगमा पेरिसडाँडामै आफ्नो युद्ध दिवस मनायो । जुन आम माओवादीका लागि अपमानजनक महसुश भयो भने माओवादी बाहेकका लागि हाँसोको खुराक बन्यो ।
यसअघि माओवादीले खुलामन्चमा जनयुद्ध दिवस मनाइरहँदा चर्का आलोचना गर्ने र विरोध जनाउनेहरुका लागि यसपटकको जनयुद्ध दिवस पक्कै रमाइलो ठट्टा बन्यो ।
केक काण्ड
साँच्चिकै माओवादी आन्दोलनको इतिहासमै यो केक काण्ड उराठलाग्दो घटनाको विषय बनिरहनेछ । माओवादी वा कम्युनिष्टका नेताका लागि यसरी केक काटेर जन्मदिन मनाउने काम आफैँमा ‘बुर्जुवा’ गतिविधि हो ।
वर्गीय रुपमा यो नितान्त सामन्तवादी सोचबाट निर्देशित र पूँजीवादी चिन्तनको उपज हो । जसको पछि पछि लाग्यो माओवादी पनि । झनै यसका नेता प्रचण्डले कडा भाषण पनि गरे ।
भाषणमा उनले विद्रोही नेतालाई ब्यंग्य गर्दै भने, ‘क्रान्तिको सपना नदेख्नु ।’ ढिलोचाँडो प्रचण्डको यस्तो भाषण अपेक्षित नै थियो । अर्थात् सत्ता र संसदवादी व्यवस्थामा छिरेपछि उनी विद्रोह र क्रान्तिका कुरा बिर्सिन्छन् भन्ने त सबैलाई थियो । तर अब उनी त विद्रोहलाई घृणा समेत गर्न थालेछन् ।
यो सत्ताको सिँढीमा चढेर विप्लवलाई विद्रोह छोड भनिरहनु उनको स्खलनको पराकाष्ठा हो । भलै विप्लव समूहको आन्दोलनको स्वरुप वहसको अर्को पाटो हुनेछ । तर प्रचण्डको चिन्तन र विचार केकमै लतपतियो ।
प्रचण्डले यस्तो भाषण गर्दा कार्यकर्ताले ब्यापक ताली ठटाए । माओवादी बाहेकका नेताहरु खुसी भए । विप्लव रिसाए । प्रचण्ड आफैँ मक्ख भए ।
जनयुद्धको उद्देश्य यही थियो त ? योद्धाहरु सहिद हुनुअघि यस्तै सेतो केकमा रातो चेरी रोपेर आफ्ना नेताले चक्कुले काटेर खाएको हेर्न चाहन्थे ?
वाम एकताको दैलोमै उभिएका प्रचण्डलाई चाहीँ के लाग्यो भने, जनयुद्ध दिवस मनाउने यही अन्तिम अवसर हो । अर्को वर्षदेखि एमालेका नेताहरुले दिवस मनाउन दिन्छन् कि दिँदैनन् ! जनयुद्धको मैजारो गर्न पनि उनले पेरिसडाँडामा केक काटेको हुनुपर्छ ।
यसरी खाओवादी
माओवादीका नेता प्रचण्ड आफैँले आफूमाथि लाग्ने आरोपलाई दिन प्रतिदिन पुष्टि गरिरहेका छन् । जब माओवादी शान्ति प्रक्रियामा आयो त्यसपछि असन्तुष्टहरुको एउटा आरोप थियो, ‘माओवादी अब खाओवादी भयो’ ।
प्रचण्ड र माओवादीका नेताहरु सत्तामा पुगेपछि जनताको काम गर्न भन्दा पनि खान मात्रै अभ्यस्त छन् भन्ने आरोप अब प्रचण्ड स्वयंले प्रमाणित गरिदिए ।
त्यसो नहुँदो हो त, जनयुद्ध दिवसलाई खाने दिनको रुपमा मनाउने नै थिएनन् ! यसअघिका दिवस भाषण, सांस्कृतिक कार्यक्रम, विचार अभिव्यक्त गरेर मनाइन्थ्यो भने यसपटक खानुको कारण के थियो ?
एमाले नेता केपी ओलीले केक काटेर खाएर जन्मदिन मनाएको विरोध गर्ने माओवादीका नेताहरु यसपटक जनयुद्ध दिवस जस्तो गम्भीर कार्यक्रम खाएरै मनाइदिए । यो हदसम्मको पतन अहिले नै सायदैले सोचेको थियो । प्रचण्डले त आफ्ना विरोधीले अपेक्षा गरे भन्दा पनि पहिले नै आफ्नो पार्टीलाई खाओवादी बनाइदिए ।