मुख्यमन्त्रीमा कसैको दाबी परेन
सुर्खेत । प्रदेश ६ का प्रदेश प्रमुख दुर्गाकेशर खनालले मुख्यमन्त्री नियुक्तिका लागि अहिलेसम्म कुनै पनि संसदीय दलका नेताले दाबी पेश नगरेको बताएका छन् ।
प्रदेश प्रमुख खनालले बहुमत सांसदहरूको समर्थन जुटाउन सक्ने दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने सूचना गरिए पनि अहिलेसम्म कोही पनि सो प्रक्रियामा नआएको बताए ।
उनले भने, ‘नेपालको संविधानको धारा १६८ को उपधारा १ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको बहुमतप्राप्त दलको नेतालाई फागुन ३ गते बेलुका ५ बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरेका छौैँ, यदि मुख्यमन्त्री नियुक्तिको दाबी नपरेको खण्डमा संविधानतः पुनः अर्को प्रक्रियामा जान्छौँ ।’
एमाले संसदीय दलको बैठकले प्रदेश सरकार आलोपालोबाट चलाउने सर्तमा सहमति गर्न प्रस्ताव राखेपछि मुख्यमन्त्रीको दाबी गर्न नेकपा माओवादी केन्द्रलाई अप्ठ्यारो बनेको हो । एमाले संसदीय दलका नेता यामलाल कँडेलले साढे दुई वर्षको आलोपालाेमा सरकार चलाउने सहमतिमा हस्ताक्षर गर्न माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीसँग सर्त राखेका थिए ।
यसमा माओवादी केन्द्रले वाम गठबन्धन कार्यदलका अनुसार अघि बढ्नुपर्ने बताए पनि प्रदेशमा राप्रपाका एक जना सांसदलाई लिएर भए पनि बहुमत पुर्याउने र त्यसैको बलमा आलोपालोबाट सरकार चलाउने सर्तात्मक प्रस्ताव राखेर माओवादीलाई सहमतिमा आउन बाध्य पार्ने ध्याउन्नमा एमाले छ ।
यहाँ नेकपा माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका एक सांसद मिलाएर पनि बहुमत बन्न नसक्ने अवस्था छ । रासस