राजनीति मुख्य समाचार

प्रचण्डको ब्रिफिङ : तत्कालका लागि पार्टी एकता ड्राफ्ट बस्यो

प्रचण्डको ब्रिफिङ : तत्कालका लागि पार्टी एकता ड्राफ्ट बस्यो

काठमाडौं । दुई वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकता तत्कालका लागि टरेको छ। एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा गम्भीर मतभेद देखिएपछि एमाले र माओवादी केन्द्रबीच जारी पार्टी एकता प्रक्रिया तत्काल नहुने भएको हो।


दुवै दलका शीर्ष नेताबीच एकीकृत पार्टीको नेतृत्व र नयाँ सरकार गठन लगायत धेरै विषयमा सहमती जुटे पनि अन्तिम समयमा एमालेले एकीकृत पार्टीको निर्देशक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' हुनुपर्ने अडान नछाडेपछि माओवादी केन्द्र एकता प्रक्रियाबाट पछाडि हटेको हो। सोही कारण हिजो बसेको पार्टी एकता संयोजन समिति बैठकले सांगठनिक र सैद्धान्तिक विषय व्यवस्थापनका लागि गठन गर्ने भनिएको कार्यदल बनाउन सकेन।


बैठकमा सहभागी एक कार्यदल सदस्यका अनुसार शीर्ष नेताको व्यवस्थापन, सरकार नेतृत्वमा आलोपालो लगायतका प्राविधिक विषय मिले पनि सिद्धान्तको विषयमा थप छलफल गर्न आवश्यक देखिएको बताए।


स्रोतका अनुसार एमालेले एकताको ड्राफ्टमा एकीकृत पार्टीको सिद्धान्त 'जनताको बहुदलीय जनवाद' लेख्नुपर्ने अडान लिएको थियो। माओवादी केन्द्रका नेताले दुवै पार्टीका सिद्धान्तलाई दस्तावेजमा समावेश गर्दै नयाँ निर्देशक सिद्धान्त बनाउनुपर्ने मध्यमार्गी प्रस्ताव अघि सारे पनि त्यसमा एमाले नेताहरु सहमत भएनन्।


एकीकृत पार्टीको निर्देशक सिद्धान्तमा दुई पार्टीबीच विवाद देखिएपछि आजै एकताको ड्राफ्ट तयार गरी पार्टी एकताको औपचारिक घोषणा गर्ने सम्भावना टरेको हो।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दै पार्टी एकता तत्कालका लागि टरेको सन्देश सुनाएका थिए। दाहालले अन्तिम समयमा एकीकृत पार्टीको सिद्धान्तलाई लिएर एमाले नेताहरुबाट आएको अडानका कारण एकता प्रक्रिया भाँड्ने मनसाय देखिएको भन्दै ब्रिफिङ गरेका थिए।

विशेष