लालबाबु पण्डितलाई किन खुम्च्याइयो जनसंख्या मन्त्रालयमा ? (भिडियो)
मन्त्री बनेपछि पहिलो अन्तरवार्तामा आफ्ना ५ वर्षे योजना यसरी सुनाए
काठमाडौं । नेकपा एमालेका नेता लालबाबु पण्डित दोस्रो पटक मन्त्री बनेका छन् । सामान्य प्रशासन मन्त्रीको रुपमा ब्यापक चर्चा कमाएका पण्डित यसपटक जनसंख्या तथा वातावरण मन्त्रीको रुपमा नियुक्त भए ।
‘उनलाई यसपटक गृह, अर्थ, शिक्षा, स्वास्थ्य, उर्जा, संचार वा फेरि सामान्य प्रशासन मन्त्री नै बनाइनुपर्छ’ भनेर देश तथा विदेशबाट आम जनताले सामाजिक संजालबाटै सुझाव दिएका थिए ।
तर आम जनअपेक्षा भन्दा ठीक उल्टो अनपेक्षित रुपमा उनलाई जनसंख्या तथा वातावरण मन्त्रालय जस्तो कम भुमिका भएको मन्त्रालयमा नियुक्त गरियो । सरकारको यस्तो निर्णयलाई लिएर केही आलोचना पनि सार्वजनिक भएका छन् ।
राजपाका नेताको कडा टिप्पणी
राष्ट्रिय जनता पार्टीका सहमहामन्त्री डा. सुरेन्द्र झाले नेपालआजको स्टुडियोमा एक साताअघि अन्तरवार्ता दिँदा लालबाबुको सन्दर्भमा चर्को आलोचना गरेका थिए । ‘केपी ओली मानसिक र शारिरिक रोगी छन् । उपचारका लागि १७ करोड खर्च गरे । तै पनि उनी नै प्रधानमन्त्री बन्नुपर्ने,’ डा. झाले आक्रोशित हुँदै भने, ‘लालबाबु चाहीँ लोकप्रिय, इमानदार हो भने त प्रधानमन्त्री बन्नुपर्यो नी ! म सुझाव दिन्छु, लालबाबु प्रधानमन्त्री बन्नुस्, संसदीय दलको नेता बन्नुस् ।’
लालबाबुलगायत मधेसमा रहेका एमाले नेताहरुपञ्ति डा. झाले कडा आलोचना गरेका थिए । उनले सप्तरीमा भएको घटनामा एमाले अति असंवेदनशील भएको भन्दै त्यसको विरोध गरेका थिए ।
लालबाबु लगायत मधेसका एमाले नेताहरुलाई ‘केपी ओलीका दास’ भन्दै आक्रोशित बनेका थिए । उनले अघि भने, ‘केपी ओली प्रधानमन्त्री बन्ने, लालबाबु चाहीँ पञ्धानमन्त्रीको ढोकामा बस्ने खरदार ?’
लालबाबुको प्रतिक्रिया
लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री बनेकै भोलिपल्ट बिहान उनकै निवासमा नेपालआज टोलीले अन्तरवार्ता गरेको हो । र लालबाबु मन्त्री बनेपछि उनीसँगको यो पहिलो अन्तरवार्ता हो ।
यस क्रममा हामीले राजपाका नेता डा. झाको टिप्पणीबारे पनि प्रतिक्रिया सोधेका थियौँ । पण्डितले भने हाँस्दै जवाफ दिएका छन् । उनले आफ्नो बारेमा भएका आलोचनालाई सकारात्मक वा नकारात्मक के हुन् ठम्याएर मात्रै ग्रहण गर्ने बताए ।
यदी झाको टिप्पणी नकारात्मक टिप्पणी भए त्यसको जवाफ समयक्रमसँगै आफैँ पुष्टि हुने पनि पण्डितले बताए ।