राजनीति विचार

‘हे दैव ! प्रधानमन्त्रीलाई भक्तहरुबाटै बचाउ’

‘हे दैव ! प्रधानमन्त्रीलाई भक्तहरुबाटै बचाउ’

रोहित

काठमाडौं । कसैको एउटा भनाइ छः हे भगवान् ! मलाई मित्रहरुबाट बचाइदेऊ, दुशमनबाट त म आफैँ बचौँला । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको सन्दर्भमा यो भनाइ ठ्याक्कै मिलेको छ ।

 

ओली यसपटक प्रधानमन्त्री बन्ने कुरा अनपेक्षित थिएन । कसैका लागि अनौठो होइन यो । तर अनौठो र उत्पाद भएको छ कसैका लागि भने, त्यो ओलीकै ‘भक्तहरु’का लागि । उनका कार्यकर्ता, सुभचिन्तकहरु प्रधानमन्त्री भएको भोलिपल्टै सुभकामना विज्ञापनले पत्रपत्रिका रंग्याएका छन् ।

 

ओलीको पक्षमा र्याली र दीपावली समेत हुँदैछ । कार्यकर्ताहरुले र्याली समेत निकाल्दैछन् । यतिसम्म कि, केही उच्च तहका कर्मचारीहरुले समेत विज्ञापन छपाउँदै ओलीलाई सुभकामना तथा बधाई दिएका छन् ।

 

ओली प्रधानमन्त्री बनेकोमा यस्तो उत्पात मच्चाउनु पर्ने खास कारण थिएन । बरु यो त उनको ‘रियल टेस्ट’ हो । यसअघि उनले दिएका अभिव्यक्तिको वास्तविक परिक्षण गर्ने समय हो यो ।

 

विकास र समृद्धीको विषयमा उनले जे जस्ता अभिव्यक्ति दिएका थिए तिनको कार्यान्वयन गर्ने समय अब आएको छ । खासगरी ओलीका समर्थकले उनलाई तिनै मुद्धा र विषयबारे सकेको सुझाव–सल्लाह दिनुपर्ने थियो ।

 

तर त्यसो नगरेर उनीहरु त सुभकामना र बधाइको ओइरोले थिचिदिएका छन् । ओली आफूलाई चाप्लुसी गर्नेहरुलाई राम्ररी चिन्दाहुन् । तर अहिले त ओलीले ती सबैलाई राम्ररी देख्न पनि भ्याएका छैनन् ।

 

समर्थकहरु हतारमै ओलीको घाँटीमा फूलमाला पहिर्याउन पुगेकै छन् । असल वा खराब कार्यकर्ता वा समर्थक वा दुश्मन पो हुन् की भन्ने समेत ओलीले ठम्याउन मुस्किल छ । यस्तो अवस्थामा सम्मान र बधाइ फिर्ता गर्नु पनि अनुचित होला । तर असल कार्यकर्ताले के बुझ्नु जरुरी छ भने, सम्मान, बधाइ र फूलमाला त्यति लपहिर्याउनु जसले ओली उठ्नै नसकुन् !

 

र ओलीलाई उठ्नै नसक्ने गरी सम्मान र बधाइ तिनै कार्यकर्ताले गरिरहेका छन् । वर्षौँदेखि ओलीको बयान गर्दा गर्दै यस्तो अवस्थामा पुगिसेका छन् कि, ती स्वयंलाई कार्यकर्ताबाट भक्तमा रुपान्तरण भइसकेको पत्तो छैन ।

 

खसमा प्रधानमन्त्री त सबैका साझा हुन् नी । तर बालकोट र बालुवाटारमा पुग्ने हो भने त्यस्तो लाग्छ त ? पक्कै छैन त्यस्तो । प्रधानमन्त्री त आफन्त, कार्यकर्ता र भक्तहरुकै घेराबन्दीमा छन् । यस्तो घेराबन्दी केही दिन र सातासम्मै रहनेछ । जसले गर्दा तिनले ओलीलाई प्रधानमन्त्री बन्न नदिएर ‘केपी बा’ बनाइरहनेछन् ।

 

भन्न चाहिँ केपीका कार्यकर्ता पनि ‘उनी देश र जनताको पक्षमा निडर भएर काम गर्छन्’ भनिरहेका छन् । तर उनीहरुले दिनभर घेराबन्दीमा पारेपछि कसरी सम्भव छ ? फूलमालाले शरिर पुरिदिएपछि कसरी सम्भव छ ? यस्तो मारामारको समयमा के केपीले सोच्न भ्याउलान् त आम जनताको विषयमा ?

 

विशेष