राजनीति

प्रधानमन्त्री नियुक्तिमा गरिएका ३ गम्भीर त्रुटी

प्रधानमन्त्रीलाई फेरि सपथग्रहण गर्न दबाब

प्रधानमन्त्री नियुक्तिमा गरिएका ३ गम्भीर त्रुटी

काठमाडौं । निर्वाचन सकिएपछि लामो समयको रस्साकस्सीसँगै नयाँ प्रधानमन्त्रीको रुपमा केपी ओली नियुक्त भएका छन् । प्रधानमन्त्री बन्ने उनको यो दोस्रो मौका हो । यससँगै ओली नै दोस्रोपटक प्रधानमन्त्री बन्ने पहिलो वामपन्थी नेता पनि हुन् ।

 

यसअघिको प्रधानमन्त्री कार्यकालको प्रशंसा भए पनि यसपटक भने सपथ ग्रहण सकिँदा नसकिँदै आलोचना भएको छ । प्रधानमन्त्री नियुक्तिको प्रक्रियामा राष्ट्रपति कार्यालयबाट भएका गम्भीर त्रुटीलाई लिएर आलोचना सुरु भएको छ ।

 

देशको सर्वोच्च निकाय राष्ट्रपति कार्यालयबाटै भएका केही गल्ती असामान्य नै छन् । यसले राष्ट्रपति कार्यालयका कर्मचारीमा सामान्य भाषा सम्पादन गर्ने शीपको अभाव मात्रै देखाएको छैन कर्मचारीको गम्भीर लापरवाही पनि प्रमाणित भएको छ ।

 

राष्ट्रपति कार्यालयबाट पटक पटक निकालिएका पत्रमा भएका गल्तीलाई कर्मचारीबाटै भएको गल्ती वा असावधानी भन्ने कि कार्यप्रतिको गैरजिम्मेवारीपन ? यो गम्भीर प्रश्न बनेको छ ।

 

यस विषयलाई लिएर धेरैले टिप्पणी गरेका छन् । राष्ट्रपति कार्यालयका उच्च कर्मचारीहरुको लापरबाही र असंवेदलनशिलता भन्दै यस्तो कार्यप्रति आपत्ति जनाईएको छ ।

 

राष्ट्रपति कार्यालयबाट भएका त्रुटी

त्रुटी १.
राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा प्रधानमन्त्रीले सपथ खाएको मिति २०७४ हुनुपर्नेमा २०७३ छ । जुन सरासर गल्ती हो । झट्ट हेर्दा यो प्राविधिक कमजोरी देखिए पनि यस्ता कुराले दिर्घकालिन रुपमा वाधा निम्त्याउन पनि सक्छ ।
राष्ट्रपति कार्यालयबाटै यस्ता गम्भीर विषयमा जतिसुकै हतार भए पनि त्रुटि गरिनु हुँदैनथ्यो ।

 

त्रुटी २.
प्रधानमन्त्रीको वास्तविक नाम खड्गप्रसाद ओली हो । तर उनले भुमिगत राजनीतिक कालमा आफ्नो नाम केपी शर्मा वा केपी ओली मात्रै भन्न थाले । सार्वजनिक रुपमा आएपछि पनि उनी केपी शर्मा वा केपी ओलीकै नामबाट निनिन थाले ।

तर अफिसियल भाषामा उनको नाम खड्गप्रसाद ओली नै हुनुपर्ने थियो । जब कि, राष्ट्रपतिले सपथ खुवाउने क्रममा यसपटक केपी ओली वाचन गरेकी थिइन् । जुन सरासर गैरजिम्मेवारीपन हो । नाम नै फरक भएपछि उक्त विधिमाथि पनि केही प्रश्न उठेका छन् ।

 

त्रुटी ३.
प्रधानमन्त्री ओलीले सपथ खाने क्रममा ‘देश र जनताको नाममा’ भन्नुपर्नेमा ‘देश’ शब्द उच्चारण नै गरेका छैनन् । यसलाई पनि अर्को उनको त्रुटीको रुपमा लिइएको छ । सपथपत्रमा ‘देश’ थियो वा थिएन । तर उक्त शब्द उच्चारण गर्ने क्रममा उनी हाँसे र ‘जनता’ मात्रै भनेका थिए ।

 

कमल थापाको सल्लाह
केपी ओलीको यस्तो त्रुटीलाई लिएर राप्रपा अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः सपथ ग्रहण गर्नुपर्ने सुझाव दिएका छन् । ट्वीट गर्दै उनले ओलीलाई सुझाव दिएका हुन् ।

 

अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि आफ्नो सपथ ग्रहणको क्रममा केही त्रुटी भएपछि दोस्रो दिन फेरि ग्रहण गरेका थिए । थापाले ओबामाको उदाहरण दिँदै ओलीले पनि दोस्रोपटक विधिपूर्वक सपथ ग्रहण गर्नुपर्ने बताएका हुन् ।

 

थापाले ट्वीटमा लेखेका छन्ः प्रम केपी ओलीले शपथमा ‘देश’ शब्द उच्चारण गर्न छुटाउनु भयो । निश्चय नै यो नियतवस होइन । त्यसर्थ राष्ट्रपति समक्ष पुनः सपथ लिई अभिलेख सच्याउन सल्लाह दिन्छु । सपथमा देश छुट्नु राम्रो होइन ।’

विशेष