राजनीति मुख्य समाचार

प्रधानमन्त्रीका ज्योतिष भन्छन्ः बालुवाटारको वास्तुशास्त्र मिलेकै छैन

ओलीका लागि दक्षिण भन्दा उत्तर उत्तम

प्रधानमन्त्रीका ज्योतिष भन्छन्ः बालुवाटारको वास्तुशास्त्र मिलेकै छैन

 

काठमाडौं । कम्युनिष्ट नेताहरु ज्योतिषका भविष्यवाणीबारे विश्वास गर्दैनन् । पछिल्लो समय गोप्य रुपमै भए पनि भाग्य र भविष्यबारे चासो राख्ने गरेका छन् ।

 

केहीको सार्वजनिक हुन्छ भने केहीले गोप्य रुपमै ज्योतिषलाई घरमै बोलाएर भविष्यवाणी सोध्छन् । प्रधानमन्त्री केपी ओली पहिलो पटक प्रधानमन्त्री बन्दा पनि एक ज्योतिषलाई बालुवाटार बोलाइएको थियो ।

 

सामान्यतः उनलाई बालुवाटारको वास्तुशास्त्रबारे पनि सोधिएको थियो । ज्योतिष कृष्ण भण्डारीलाई त्यहाँ बोलाइएको थियो । भण्डारीले वास्तु शास्त्र नमिलेको भनेपछि ओलीले पूजाआजा गर्न चाहेनन् ।

 

यसो गर्न नचाहनुको मुख्य कारण सार्वजनिक रुपमा आलोचना हुन्छ की भन्ने डर थियो । सोही अनुसार ज्योतिषसँग केही परामर्श लिएर पूजा भने गरिएन ।

 

ज्योतिष कृष्ण भण्डारीका अनुसार प्रधानमन्त्री केपी ओलीले गुमेको प्रतिष्ठा र मान फेरि प्राप्त गर्ने योग छ । ओलीको जन्मकुण्डली नै उनले हेरेका छन् ।

 

प्रधानमन्त्री केपी ओलीको जन्म २००८ सालमा तेह्रथुममा भएको थियो । मोहनप्रसाद र मधुका पुत्र केपीको वास्तविक नाम खड्गप्रसाद हो । उनको मिथुन राशि हो ।

 

धर्मबारे ओली

केपी ओलीका बावु मोहनप्रसाद आफैँ ज्योतिष विज्ञानमा विश्वास गर्छन् र उनी धार्मिक पनि हुन् । त्यसको प्रभाव केपीमा पनि परेको बताउँछन् ज्योतिष कृष्ण ।

 

यद्यपि केपी भने आफ्नो धर्मबारे आस्था बाहिर नदेखाउने उनको स्वभाव छ । वास्तविकतामा आस्तिक भए पनि सार्वजनिक रुपमा भने नास्तिक रहेको देखाउने केपीको स्वभाव छ ।

 

ओलीको प्रभाव

ओलीको जन्मकुण्डली अनुसार उनी आँटी, पराक्रमी र प्रभावशाली व्यक्ति भएको बताउँछन् ज्योतिष कृष्ण । साथै जोसुकैसँग बोल्दा प्रभावमा पार्नसक्ने क्षमता ओलीको रहेको बताइन्छ ।

 

ओलीको भाग्यस्थानमा सूर्य स्थान भएकाले गुमेको पराक्रम पुन पाउने उनको योग जुटेको हो । यसबाहेक उनको राजयोग भएको पनि ज्योतिषले बताए ।

 

यस्तै उनी दूरदर्शी र अरुका लागि काम गर्ने स्वभावका रहेको बताइन्छ । धेरै वटा राजयोग भएकाले पनि उनको चर्चा भइरहने ज्योतिषको भनाइ छ । यसबाहेक उनले देश र राष्ट्रका लागि जुनसुकै निर्णय गर्नसक्ने छन् ।

 


दक्षिणभन्दा उत्तर असल

ओलीका लागि दक्षिण क्षेत्र भन्दा पनि उत्तरी क्षेत्र फाप्ने गरेको ज्योतिषको भचनाइ छ । यो उनको संयोग नै रहेको उनले बताएका छन् ।

 

झापा आन्दोलनको जगबाट चिनिएका केपी ओलीले १४ वर्षे जेल जीवन बिताए । प्रारम्भिक समयमा उनी निकै विद्रोही स्वभावका भए पनि पछिल्लो समय भने सौम्य छन् ।

 

पूर्वीय दर्शन तथा हिन्दु धर्मबाट उनी प्रभावित रहेको उनका भाषणमा पनि अनुभव हुन्छ । ज्योतिषका अनुसार यस पटक पनि उनका लागि बालुवाटार फलिफाप देखिएको छैन । अघिल्लोपटक जसरी चर्चा र प्रशंसा भयो यसपटक भने उनको प्रधानमन्त्रीकाल मध्यम रहने ज्योतिषहरुले बताएका छन् ।

 

विशेष