अाजकाे बैठकले वाम एकतालार्इ अन्तिम रुप देला त ?
काठमाडौं । अन्तिम चरणमा पुग्यो भनेर पनि अड्किएको वाम एकता (एमाले र एकीकृत माओवादी एकीकरण) को प्रयासलाई अन्तिम रुप दिन आइतबार एकता संयोजन समितिको बैठक बस्दैछ ।
सिद्धान्त तथा पदीय भागबण्डामा कुरा अड्किँदा गएको बुधबारपछि एकता संयोजन समितिको बैठक बस्न सकेको थिएन ।
तर शनिबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच बालकोटमा भएको छलफलपछि आइतबारका लागि एकता संयोजन समितिको बैठक तय भएको हो ।
एमाओवादीले एकतासँगै पार्टी तथा सरकारमा हुने पदीय भागबण्डा सबैमा प्याकेजमा सहमति हुने बताउँदै आएको छ । तर त्यस विषयमा कुरा मिल्न सकेको छैन । यसैले गर्दा ओली प्रधानमन्त्रीमा नियुक्त भएर एमालेका केही नेता मन्त्री बन्दा पनि माओवादी सरकारमा गएको छैन ।
शनिबारकाे ओली र प्रचण्डबिच भएको वार्तापछि अड्किएको ठाउँबाटै एकता प्रक्रियालाई निरन्तरता दिने सहमति बनेको बताइएको छ ।