आरजुको फरियामा गुटमुटिएको कांग्रेसी गुट फुकाउने कसरी ?
आरजुको ‘राणा शासन’ नै प्रिय छ कांग्रेसी कार्यकर्तालाई
लोकेन्द्र भट्ट ।
संघीय नेपालको पहिलो खुट्कीलोबाटै केन्द्रदेखि ७ वटै प्रदेशसम्म चिप्लिएको नेपाली कांगे्रस अतिखेर पार्टी सभापति शरेबहादुर देउवा नभई उनकी पत्नि आरजु राणाको हुकुममा चल्न थालेको छ ।
कांग्रेसनिकट विभिन्न भ्रातृ संगठनमा आरजुको वरिपरी घुम्नेहरुको वर्चस्व पहिलेदेखि नै देखिन्थ्यो । पछिल्लो समय त आरजुको ‘राणा शासन’ले देउवा नेतृत्वको सरकार गठनलाई पनि अछुतो राखेन ।
स्थानीय तहको चुनावदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचनका बेला टिकट वितरणमा पनि आरजुको शासनले ठूलै हलचल मञ्चायो ।
कांग्रेसलाई विधि, विधान र नीति अनुसार चलाउन नसकिरहेको आलोचना खेपिरहेका सभापति देउवालले आरजुकै कारण महाधिवेशन भएको २ वर्ष हुनैलाग्दा पनि पार्टीको सम्पूर्ण पदाधिकारी नै चयन गर्न नसकेको केही केन्द्रीय नेताहरुकै आलोचना छ ।
आरजुको वरिपरी घुम्ने कांग्रेसीहरुः
देउवा सभापति नबन्दादेखि नै केही नेता–कार्यकर्ता आरजुको निकट रहँदैआएका थिए । जब देउवा सभापति बने, त्यसपछि त आरजुलाई प्रभावमा पार्नु नै पार्टीमा स्थापित बन्ने उपाय हो भन्ने तिनले बुझे ।
कांग्रेसमा गुटका नेताको पगरी पाएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, खुमबहादुर खड्कासँगै कांग्रेसले ‘देउवा एण्ड आरजु प्रालि’को उपनाम पाएदेखि आरजुको गुट पनि सबैभन्दा बलियो गुटको रुपमा स्थापित भएको छ ।
केन्द्रीय राजनीतिमा आरजुको साहारा लिँदै आफ्नो राजनीतिक करिअरलाई अगाडि बढाइरहेका बालकृष्ण खाँण, महोनबहादुर बस्नेत, गोपालमान श्रेष्ठ, वीरबहादुर बलायर, रमेश लेखकलगायतका नेतालाई साथमा लिएर सभापति देउवाको विकल्पको रुपमा आफूलाई उतार्न आरजु लागिपरेकी छन् ।
सरकार गठनदेखि सबै तहका निर्वाचनसम्म यस्तो अभ्यास उनले देखाइन् । केहि दिनअघि मात्रै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता अर्जुनरसिंह केसीले पार्टीमा ‘आरजुको साशन थेगीनसक्ने गरी बढिरहेको’ भन्दै कडा आलोचना समेत गरेका थिए ।
नेविसंघमा आरजुको प्रभावः
आफ्नो राजनीतिक भविष्यका लागि भन्दै सभापति देवालाई पार्टीका विभिन्न भ्रातृ संगठनहरुमा आफूसँग नजिक रहेका मान्छेलाई संगठनको कार्यकारी पदमा पु¥याउन लविङ गरेर सशक्त गुट निर्मामा लागिरहेकी देखिन्छिन् आरजु ।
नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ र तरुण दललगायतका भ्रातृ संगठनमा पछिल्लो समय आरजुसँग नजिक मानिनेहरु हाबी भइरहेको पाइन्छ । जसको कारण अहिले नेविसंघको विवाद सतहमै आएको छ । नेविसंघको ११ औँ महाधिवेशनमा सभापतिको प्रबल दाबेदार मानिएका जीतजङ्ग बस्नेतलाई आरजुले तरुण दलको अफर दिएर नैनसिंह महरलाई अगाडि सारेकी थिइन् ।
गृहजिल्लाको राजनीतिमा जिल्ला सभापति कर्णबहादुर मल्लको चरम असहयोग झेलिरहेकी आरजुले नैनसिंहलाई मल्लको विकल्पका रुपमा अगाडि सारेर डडेलधुराबाटै आफ्नो राजनीतिक भविष्यलाई अगाडि बढाउन खोजेको बुझिन्छ ।
नेताका आआफ्नै गुट र पार्टीलाई प्रालि बनाउने आरजुको योजनाले कांग्रेसका भ्रातृ संगठनमा पनि दर्जन गुट बनिसकेका छन् । नेविसंघमा त यसले विकराल रुप लिएको छ ।
फरक–फरक कार्यक्रमको आयोजना गर्दै एक–अर्का प्रति कडा आलोचना गर्ने कार्यले तीव्रता पाइरहेको छ । कांग्रेसलाई दर्जन गुट कसैको प्रालिबाट सञ्चालित गर्न रोकेर विधि, विधान र नीति अनुसार चलाउने कुरामा नेतृत्व तहका नेता कार्यकर्ताले गम्भिर भएर नसोचेको खण्डमा भारतीय कांग्रसको हविगतमा पुग्ने कुरामा दुई मत नहोला ।
सन्दर्भ प्रजातन्त्र दिवसः
प्रजातन्त्र दिवसको सन्दर्भ छ । नेपाली कांग्रेसको पहिलो पुस्ताका नेताहरुको कठिन संघर्षबाटै अहिलेको स्वतन्त्रता उपलब्ध भएको हो । त्यसो त, नेपाली कांग्रेस तिनै नेताको संघर्ष र वलिदानीप्रतिको विश्वास हो ।
विपी, गणेशमान, किसुनजी लगायत नेताले गरेको संघर्षको यात्रा यहीँसम्म थियो त ? राणा शासन, पञ्चायत र राजसंस्थाविरुछ नेताको सामुहिक संघर्ष एक नेता पत्निको हुकुममा अल्झिनुले कांग्रेस मात्रै नभएर सिंगो लोकतन्त्रको उपहास हो ।
दुखद् पक्ष त के भने, राजनीतिक करिअर भएका प्रभावशाली नेताहरु समेत आरजुको भक्तिगानमा लिप्त छन् । यस्तै अध्ययन र बहसलाई राजनीतिक करिअरको खुट्कीलो नबनाएर आरजुको चाकडीमा नेविसंघ र युवासंघका कार्यकर्ता हरेक बिहान आरजुको दर्शन गर्न निवास पुग्ने उराठलाग्दो अवस्था छ । कांग्रेसका हरेक नेता÷कार्यकर्ता यस्तो अलोकतान्त्रिक प्रबृत्तिको साक्षी बनेर बस्ने हो की सिंगो पार्टीलाई लोकतान्त्रिक बनाउने हो ?