काठमाडौंको शान्तिनगर, यसरी भयो अशान्त
काठमाडौं । काठमाडौंको शान्तिनगर । मंगलबारको चिसो दिन । विप्लव समूहले बन्द आह्वान गरे पनि अन्य दिन झैँ अवस्था शान्तिपूर्ण थियो ।
दिउसो १ बजेतिर स्थानीयहरुबीच अचानक खैलाबैला भयो । सडकछेउमा पसल गरी बसेकाहरु, बटुवाहरु केही छिनमै सबै आतंकित भए ।
स्थानीय एक पसलेले शान्तिनगरछेउमै शंकास्पद वस्तु देखे । उतिबेलै ‘बम, बम, बम !’ भन्दै चिच्याएपछि सबैमा अशान्ति छायो । प्रहरी र स्थानीयहरुको घुइँचो लागिहाल्यो ।
प्रहरीले छेउछाउमा बटुवालाई हँड्न दिएन । पसलहरु बन्द गराइयो । गाडी र मोटरसाइकल पनि त्यस बाटो हिँड्न बन्द भए । बन्द आह्वान गरिएको बिहानैदेखि शान्त वातावरण भए पनि काठमाडौंको शान्तिनगर छिनभरमै अशान्त भयो ।
कारण थियो, विप्लव समूहले राखेको बम । स्थानीयहरु भ्यभित त भए तर आक्रोशित पनि देखिन्थे । चुनावको विरोध गर्दैआएको कम्युनिष्ट पार्टी नेकपा (विप्लव समूह) लाई धेरैले गाली गर्न थाले ।
यद्यपि, प्रहरीको सुरक्षाघेराबीच नेपाली सेनाको डिस्पोजल टोली आएर केही बेरमा उक्त बमलाई निश्क्रिय पारेको छ । वम निश्क्रिय पारे पनि शान्तिनगर क्षेत्र अहिलेसम्म शान्त हुन सकेको छैन ।
पोखरामा विस्फोट दुई घाइते
विप्लव समूहले नै मंगलबार बन्द आह्वान गरेको दिन पोखराको वीजयपुरमा वम विस्फोट गराउँदा एक पत्रकार र एक प्रहरी घाइते भएका छन् ।
उनीहरुको उपचार जारी छ । प्रहरीले दोषिलाई कारवाहीका लागि खोजी कार्य जारी राखेको बताएको छ ।