वाम एकतसँगै बिलाए माधव नेपाल, राजनीतिक भविष्य धरापमा
ओलीको पेलानपछि प्रचण्ड ‘गुट’मा यसरी पुगे माधव
लोकेन्द्र भट्ट ।
पूर्वपधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल माओवादी केन्द्रसँगको पार्टी एकतापछि आफ्नो भूमिका खोजीमा पहल बढाएका छन् ।
यसका लागि उनले आफूनिकटका नेता–कार्यकर्तासँग भेटघाट र छलफल तिब्र बनाएका छन् । पार्टी अध्यक्ष केपी ओलीले आफूलाई ‘माइनस’गर्दै अघि बढेको भन्दै नेपालले आफ्नो पहल बढाएका हुन् ।
केपीले आफ्नै ‘लाईन’का मात्रै मुख्यमन्त्री बनाएका कारण पनि उनी ओलीसँग रुष्ट देखिँदैआएका छन् । यसबीचमा नेपालले आफू निकट थुप्रै नेता–कार्यकर्तासँग भेटघाट गरिसकेका छन् ।
ओली–प्रचण्ड सहमतिमा अटाएनन् नेपाल
केपी ओली र (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो नेतृत्व गर्ने सहमति गरे पनि १५ वर्षसम्म पार्टी नेतृत्व गरेका नेपालको अबको भुमिका कस्तो हुने भन्ने बारे छलफल नै भएन ।
ओली र प्रचण्डबीच छलफल हुँदा राष्ट्रपति विद्या भण्डारी, वर्षमान पुन लगायत नेतालाई व्यवस्थापन बारे पदीय भागबण्डाको कुरा भए पनि नेपालको पदीय भुमिकाले विषय नै पाएन ।
एमालेकै केही नेता भने माधव नेपाल र झलनाथ खनाललाई पनि समेटेर जानुपर्ने बताउँछन् । ओली र प्रचण्डबीच पदीय भागबण्डा हुँदा नेपाल र खनालको पदीय भुमिका कस्तो हुने भन्ने पनि अहिले नै टुंग्याउनुपर्ने केही नेताको गुनासो छ ।
असुरक्षित माधव नेपाल
केही कुराको शंकेत पाएरै हुनसक्छ, वाम एकता भएको खण्डमा पार्टीको साधारण सदस्यको रुपमै बस्न तयार रहेको बताउँदैआएका नेपालले एकाएक एकीकृत पार्टी टुंगोमा पुगेपछि भने बोली फेरेका छन् ।
पार्टी एकताको अन्तिम चरणमा भने उनले आफ्नो वरियताको कुरालाई लिएर ओलीसँग गुनासो गर्न थालेको बुझिएको छ । उनले ओलीप्रति असन्तुष्टि समेत पोखिसकेका छन् । ओली र प्रचण्डले आलोपालो प्रधानमन्त्री चलाउने सहमति नभएको उनले बताउन थालेका छन् ।
किन देखिएन राष्ट्रपति मोह ?
आलंकारिक भुमिकाको राष्ट्रपति नबन्ने बताउँदैआएका नेता नेपाल एकीकृत पार्टीभित्र प्रभावशाली पदमा रहने इच्छा देखाइरहेका छन् ।
२०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि डा. रामवरण यादवको कार्यकाल सकिएकाले नयाँ राष्ट्रपतिको चुनाव हुने अवस्थामा माओवादीले राष्ट्रपतिमा एमालेलाई सघाउने भएपछि एमालेभित्र राष्ट्रपतिको उम्मेदवार खोज्न थालिएको थियो ।
त्यसै बेला एमालेले राष्ट्रपतिको अफर गर्दा नेता नेपालले आफ्नो उमेर नपुगेको भन्दै राष्ट्रपति नबन्ने संकेत दिएका थिए । घुमाउरो भाषामा उनले आफू अझै केही समय सक्रिय राजनीतिमै रहने बताएका थिए ।
उनले अहिले पनि राष्ट्रपति बन्ने इच्छा बाहिरी रुपमा देखाएका छैनन् । तर राष्ट्रपतिमा एमालेका अन्य नेता भन्दा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको विकल्पमा माधव नेपाललाई अघि सर्न माओवादीका नेता समेत सहमत छन् ।
नेपालको विकल्प राष्ट्रपति मात्रै
एकीकृत वाम पार्टीका केही प्रभावशाली नेताका अनुसार माधव नेपालका लागि राष्ट्रपति पद खानुको विकल्प नै छैन । उनीहरुले पार्टीभित्र नेपाललाई ‘सेटल’ गर्ने अन्य पद नै नरहेको चर्चा गरेका छन् ।
नेपालका सुभचिन्तकहरुले भने उनलाई राष्ट्रपतिकै लागि लबी गर्न सुझाव दिँदैआएका छन् । अन्यथा उनको राजनीतिक भविष्य सकिने उनीहरुले औंल्याएका छन् ।
नेपालका लागि राष्ट्रपति बन्नु पनि सहज बाटो भने छैन । उनको विकल्पको रुपमा माओवादीका नेता नारायणकाजी वा रामबहादुर थापाको कुरा पनि उत्तिकै उठ्ने गरेको छ ।
प्रचण्ड ‘लाईन’मा
एकीकृत पार्टीमा आफ्नो स्थान असुरक्षित देखेपछि नै केहीअघिदेखि नै नेपालले प्रचण्डसँग समेत संवाद बढाएका छन् ।
यतिसम्म कि, उनलाई प्रचण्ड ‘लाईन’ को रुपमा पनि बुझ्न थालियो । आफ्नो पद सुरक्षित गर्ने विषयमै प्रचण्डसँग केही बसाइपछि नेपाललाई प्रचण्डकै निकटको रुपमा बुझिएको हो ।
केपी ओलीले भने नेपाललाई सधैँ शंसयका साथ हेर्दैआएका छन् । ईश्वर पोखरेल लगायतलाई आफूपछिको नेताको रुपमा स्थापित गर्ने अभ्यास गरेका छन् । तर नेपाललाई पेलेरै जाने उनको मनशाय रहेको एमालेभित्रका नेताहरुको बुझाइ छ ।
यसरी केपीपछिको पार्टी नेतृत्व गर्ने अभ्यासमा लागेका माधव नेपाल वाम एकतासँगै राजनीतिक रुपमा कमजोर बन्दैगएका छन् ।