केपीको चाहनाः गृहमन्त्रीमा बादल वा जनार्दन, प्रचण्ड चाहन्छन् वर्षमान
बादल वा जनार्दनलाई गृहमन्त्री बनाउँदा केपी ओलीलाई के फाइदा !
लोकेन्द्र भट्ट।
नेकपा एमालेसँग पार्टी एकताको लागि हस्ताक्षर गरेलगत्तै माओवादी केन्द्रका नेताहरु सरकारमा सहभागि हुन जाने पक्कापक्की भएको छ । तर कसलाई के मन्त्रालयको जिम्मा लगाउने भन्नेबारे आन्तरिक विवाद अझै छ ।
खासगरी प्रभावशाली मन्त्रालयको रुपमा बुझिने गृह मन्त्रालयमा को जाने भन्ने कुरालाई लिएर माओवादीभित्रै खिचातानी जारी छ । यसका लागि माओवादी केन्द्रका महासचिव एवं राष्ट्रियसभा सदस्य रामबहादुर थापा (बादल), पूर्वअर्थमन्त्री वर्षमान पुन र पूर्वगृहमन्त्री जनार्दन शर्माले आकांक्षा देखाएका छन् । पछिल्ला दिनमा उनीहरु तीनैजनाले आआफ्नै बाटोबाट ‘लबी’ गर्दैआएका छन् ।
केपीको चाहना बादल
प्रधानमन्त्री केपी आली स्वयं भने माओवादीका बादललाई गृहमन्त्री बनाउन चाहन्छन् । बादललाई गृहमन्त्री बनाएपछि राष्ट्रियसभा प्रमुख एमालेबाटै बनाउने दाउमा ओली रहेको बुझाइ माओवादीका केही नेताहरु बताउँछन् ।
ओलीको चाहनाकै बीच बादल स्वयं पनि गृहमन्त्री बन्न उत्कट चाहना राख्दैआएका छन् । उनले केही दिनयता बढी नै लबी गर्न थालेका हुन् ।
अर्कोतिर प्रचण्डका निकटतम नेता वर्षमान पुन पनि गृहमन्त्री बन्ने दौडमा छन् । बादल राष्ट्रियसभामा भएकाले उनले आफैँ उपयुक्त पात्र भएको दाबी गर्दैआएका छन् । यसका लागि उनले प्रचण्डलाई नै रिझाउँदैआएका छन् । पुनले प्रचण्डसँग पनि भेटघाट र छलफल तिब्र बनाएका छन् ।
जनार्दन शर्मा भने उर्जा र गृहमा सफलतापूर्वक काम देखाएको भन्दै गृहमा दोहोरिनुपर्ने भन्दैआएका छन् । प्रचण्डले शर्मालाई नरुचाए पनि ओलीले पनि शर्मालाई नै साथ दिएका छन् ।
पछिल्लो समय प्रचण्डसँग टाढिएका जनार्दनलाई गृह मन्त्रालयमा ल्याएर आफ्नो पक्षमा ल्याउने ओलीको भित्री चाहना छ । स्रोतका अनुसार शर्मा स्वयंले पनि आफू गृहमन्त्री बनेको खण्डमा ओलीलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता दिएका छन् ।
आफ्नै पार्टीका तीनैजना निकटतम नेताहरु बादल, वर्षमान पुन र जनार्दन शर्मामध्ये कसलाई गृह मन्त्रालयमा पठाउने भनी प्रचण्डलाई निर्णय गर्न अप्ठ्यारो भइरहेको बुझिएको छ ।
स्रोतका अनुसार प्रचण्ड आफैँ वर्षमानलाई गृहमन्त्री बनाउन चाहन्छन् । ओली भने वर्षमानको सट्टा बादल वा जनार्दनलाई पठाउन आग्रह गर्दैआएका छन् ।