निवास नपाएपछि ७ नम्बर प्रदेशका मन्त्रीको हरिबिजोग
धनगढी । प्रदेश नम्बर ७ का भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहोरा मन्त्री भएकाे हप्ता दिन नपुग्दै निराश भएका छन् । शपथ लिदाकाे खुसी सपना जस्ताे लाग्दैछ बाेहाेरालार्इ ।
मन्त्री भएकाे हप्ता दिनसम्म कार्यालय सुनसान छ, मन्त्रालयमा एक्लै पदभार ग्रहण गरेका उनले न आफ्ना मातहतका कर्मचारीलाई निर्देशन दिन पाए न आफ्नो योजना अगाडि बढाउने सुरुवात गर्न सके । अन्य विभिन्न मन्त्रालयबाट मन्त्रीलाई आफ्नो कार्यालयमा पदभार ग्रहण गराउनका लागि कर्मचारी मन्त्रीलाई लिन गए र मन्त्रालयमा लगेर स्वागत गरे ।
तर मन्त्री बोहोरालाई कार्यालयमा पदभार ग्रहण गराउन र उनको स्वागतका लागि मन्त्रालयबाट एकजना पनि कर्मचारी थिएनन् । उनी आफै मन्त्रालय गए । उनको मन्त्रालयमा पियनदेखि सचिवसम्म कोही थिएनन् ।
उनलाई भवन डिभिजन कार्यालयका सिनियर डिभिजनल इन्जिनियर रवीन्द्र बोहोराले स्वागत गरे । अहिले मन्त्री बाेहाेरा आफ्नो ठूलो बुवाको छोरा भाइसँग एक साता अघिदेखि बस्दै आइरहेका छन् ।
अहिले उनकाे मन्त्रालयमा सोमबार बल्ल एकजना कर्मचारी वीरेन्द्रबहादुर चन्द काठमाडौँबाट आइपुगेका छन् । मन्त्री बाेहाेराले भाैतिक पूर्वाधार विकास जस्ताे जनताको काम गर्ने जिम्मेवारी भएकाे मन्त्रालयमा कर्मचारी नहुनु गैरजिम्मेवारीपन भएको भन्दै खेद प्रकट गरेका छन् ।
मन्त्री बोहोरा भन्छन्– “मन्त्रालयमा न सचिव छन्, न पियन, एक जना कर्मचारीको भरमा मन्त्रालय कसरी चल्छ ? यसरी त काम गर्न नै गाह्रो भयो नि ।”