दुईदिनभित्र सरकार बिस्तार हुन्छ : प्रधानमन्त्री अाेली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबकाे दुईदिनभित्रमा सरकार बिस्तार भइसक्ने घाेषित गरेका छन् । बुधबार काठमाडौंको दहचोकमा भएको कार्यक्रममा उनले दुईदिनभित्रमा सरकार बिस्तार हुने बताएका हुन् ।
प्रधानमन्त्रीको भनाईलार्इ उद्धृत गर्दै एमाले पार्टी सचिवालयले जारी गरेको प्रेस नोटमा भनिएको छ, “भोलि र पर्सीमा सरकार विस्तार हुन्छ,” ।
यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो हरेक पाइला विकासको बाटोमा हुने बताए । प्रधानमन्त्री ओलीले सरकारको मुल प्राथमिकता नै समृद्धि र विकास भएकोले आफू हर तरहले जनतालाई यो उपलब्धीको अनुभुति गराउन प्रयत्नशिल रहने बताएका हुन् ।
“मेरो हरेक पाइला विकासका लागि र विकासको बाटोमा हुनेछ,” प्रधानमन्त्री ओलीले भने, “अब विकासका लागि हरेक जमिनको टुक्रा र हरेक थोपा पानीको पनि उपयोग हुन्छ ।”
दहचोकमै रहेको नेपाल एकीकरणका एक सारथी कालु पाण्डेको समाधिस्थलमा माल्यार्पण गरेपछि महोत्सवको उद्घाटन गर्न पुगेका ओलीले नेपाल एकिकरणसँग जोडिएको यस ठाउँलाई ऐतिहासिक र पर्यटकीय स्थलको रुपमा समेत विकास गर्नुपर्ने बताए ।