राजनीति मुख्य समाचार

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि ‘सकारात्मक’

समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत, राजपा पनि ‘सकारात्मक’

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ । उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ ।

 

सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भएपनि सहभागिताको अझै टुंगो लागेको छैन । सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुईपक्षीय छलफल निकै सकारात्मक भएपनि संविधान संशोधनको विषय राजनीतिक निर्णयकैरुपमा अगाडि आए अझ विश्वासको वातावरण बन्ने फोरमको बुझाइ छ ।

 

सरकारमा सहभागी हुनेबारे पछिल्लो चरणमा शृंखलाबद्ध छलफल भएको र ती छलफल सकारात्मक ढंगले अघि बढेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राससलाई बताए । संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीको आधिकारिक धारणा सार्वजनिक भए सरकारमा आफूहरू पनि सामेल हुने उनको भनाइ छ ।

 

‘सरकारमा सहभागिताबारे हिजोदेखि प्रारम्भिक छलफल सुरु भएको छ । हाम्रो मुख्य मुद्दा संविधान संशोधन नै हो । यसमा राजनीतिक निर्णय र समझदारी भइ कार्यान्वयन गर्ने अवस्था देखिए सरकारलाई सहयोग गर्छौं’–अध्यक्ष यादवले भने । विगतमा भएका समझदारी कार्यान्वयन नहुने अवस्था रहने हो भने बेइमानीपूर्ण हुने र त्यस्तो सम्झौताको औचित्य नहुने समाजवादी फोरमको धारणा छ ।

 

‘संविधान संशोधनबारे राजनीतिक समझदारी भएको खन्डमा तपाइँहरु सरकारमा जान सहमत हुनुहुन्छ ?’ भन्ने जिज्ञासामा अध्यक्ष यादवले आफूहरूले उठाएका मुद्दामा इमान्दारी भए सरकारमा जाने नत्र बाहिर बसेर पनि सरकारलाई समर्थन गर्ने उल्लेख गरे । उनले भने–‘विगतमा सत्तामा जानका लागि फोस्रो सहमति गरेर सत्ताको भर्‍याङ बनेका थुप्रै उदाहरण छन् । तर, अबको सम्झौतामा इमान्दारी हुन जरुरी छ ।

सरकारको अंशियार नभएपनि बाहिरबाट सरकारलाई सहयोग गर्नसक्छौं । सहभागिताका लागि संशोधनका मुद्दामा स्पस्ट हुनुपर्छ ।’ समाजवादी फोरमले संविधान जारी भएदेखि नै केही मुद्दामा असन्तुष्टि व्यक्त गर्दै आएको छ । उक्त दलले संविधान संशोधनअन्तर्गत्, प्रदेश संरचना, नागरिकताका सवालमा मधेसी जनताको भावना सम्बोधन हुनुपर्ने अडान लिएको छ ।

राजपा पनि सकारात्मक
वाम गठबन्धनका तर्फबाट एक साताअघि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष ओलीले सरकारमा मधेसकेन्द्रित राजनीतिक दललाई सहभागिता गराउनेबारे विभिन्न पहल गरिरहेका छन् । कतिपय अनौपचारिक तवरबाट भएका छलफलमा समाजवादी फोरममात्र हैन, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका शीर्ष नेतासँग पनि छलफल भएको बताइएको छ ।

 

राजपाका अध्यक्षमन्डलका सदस्य शरत्सिंह भण्डारीले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे अनौपचारिक छलफल भइरहेको बताए । ‘सरकारमा जाने/नजाने सम्बन्धमा छलफल चलिरहेका छन् । हाम्रो कुरा स्पष्ट छ, संविधान संशोधन हुनुपर्‍यो । त्यसमा पछिल्लोपटक एमालेले लचकता देखाएको हुनाले हामीपनि सकारात्मक नै छौं’–उनले भने ।

 

यता, सत्ता नेतृत्वकर्ता दल नेकपा एमालेका पोलिटब्यूरो सदस्य विष्णु रिमालले गठबन्धन सरकार विकास–निर्माण र समृद्धिको दिशामा अघि बढ्ने भएकाले यो प्रक्रियामा आउन चाहने सबै राजनीतिक दललाई सरकारमा सामेल गर्न ढोका खुला रहेको बताए ।

 

निर्वाचनताका एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनले संयुक्त घोषणापत्र जारी गरेको र त्यसलाई पाँच वर्षभित्र कार्यान्वयन गर्नुपर्ने अवस्था भएकाले उक्त घोषणपत्रमा सहमत भइ देश विकासमा लाग्ने शक्तिलाई सँगै लैजाने चाहना आफूहरुको भएको उल्लेख गरे ।

 

उनले भने–‘पहिला संक्रमणकालमा सम्झौता बाध्यता हुन्थ्यो, अहिले पाँच वर्षका लागि जनमत पाएको छ, त्यसैले सरकार सन्चालनमा कुनै समस्या भएन । भरसक सबैलाई आउनोस् भनेर आह्वान गरिएकै छ ।’रासस

विशेष