डा. केसीको कडा टिप्पणीः आशलाग्दा यी नेताहरुलाई प्रचण्ड–ओलीले नै ‘स्याबोटेज’ गर्दैछन् (भिडियो)
वाम एकताको ‘बिहाइन्ड द सीन’
काठमाडौं । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वाम एकताले एमाले र माओवादीका केही प्रभावशाली नेताको राजनीतिक भविष्य धरापमा पर्ने विश्लेषण गरेका छन् ।
माओवादी केन्द्रले एमालेसँग गरेको एकतापछि पार्टीका असन्तुष्ट बनेका तीन जना प्रभावशाली नेताले माओवादी केन्द्र छोड्ने अवस्थामा पुगेको उनको विश्लेषण छ ।
एकतापछिको एकीकृत पार्टीमा एमाले र माओवादीका नेताको राजनीतिक भविष्यको के हुने ? कुन नेताको हैसियत कस्तो रहने ? भन्ने बारेमा नेपालआजसँग विशेष कुराकानीका क्रममा उनले एकतापछि केही नेताहरुको राजनीतिक भविष्य त्यति सहज नभएको बताएका हुन् ।
को ‘ईन’ को ‘आउट’
प्रचण्डको एकता प्रस्ताव बारेमा सुरुदेखि नै विरोध जनाउँदै आएका माओवादी केन्द्रका प्रदेश नम्बर १ का इन्चार्ज गोपाल किराँती, अर्का प्रभावशाली नेता विश्वभक्त दुलाल (आहुती) र लोकेन्द्र बिष्ट मगरले माओवादी केन्द्र छोड्ने अनौपचारिक रुपममा संकेत गरिसकेका छन् ।
एकीकृत पार्टीभित्रै पनि कसलाई ईन गर्ने र कसलाई आउट गर्ने भन्ने खेल सुरु भएको उनी बताउँछन् । डा. केसीका अनुसार यतिखेर माओवादीमा कृष्णबहादुर महरा, जनार्दन शर्मा, वर्षमान पुनमध्ये कसलाई ईन र कसलाई आउट गर्ने भन्नेबारे चल्लखेल सुरु भएको छ ।
‘शर्मा र पुनलाई अगाडि ल्याउन प्रचण्ड लागिपरेका छन्,’ डा. केसी भन्छन्, ‘महरा आउटको लाईनमा देखिन्छ ।’ यसले माओवादी केन्द्रमा फेरि ठूलो हलचल हुने उनको बझाइ छ ।
यस्तै एमालेमा पनि केही नेताको राजनीतिक भविष्य पनि जोखिममा रहेको उनी बताउँछन् । अध्यक्ष ओलीले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु पौडेललगायतका नेतालाई अगाडि सार्ने छनक देखाएको भन्दै डा. केसीले अष्टलक्ष्मी शाक्य, घनश्यम भुसाल र योगेश भट्टराइको राजनीतिक यात्रा त्यति सहज नरहेका बताएका छन् ।
साथै एकीकरणका दुई नेता ओली र प्रचण्डले नयाँ पुस्तालाई ‘स्पेश’ नदिएर एकीकृत पार्टीमा पनि आफू नै कसरी हावी हुने भन्ने प्रपञ्च रच्दैआएको केसीको भनाइ छ ।
कांग्रेसको भुमिका
कांग्रेसले विगतमा धेरै कमी कमजोरी गरेकाले सशक्त प्रतिपक्षको भुमिका पनि निर्वाह गर्नसक्ने अवस्था नरहेको उनले बताए । पछिल्लो समयमा आफूलाई सच्चा कम्युनिष्ट भन्दै आएका विप्लव र वैद्य समूह अहिलेकै परिप्रेक्षमा उदाउने अवस्था नरहेको उनको बुझाइ छ ।
यद्यपि एकीकृत पार्टी र सरकारको आगामी गतिविधिले पनि नयाँ बन्ने कम्युनिष्ट पार्टीको बाटो तय हुने उनले बताए । यसबाहेक डा. केसीले नेपाली राजनीतिक प्रबृत्तिमाथि कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी ओली, राष्ट्रपति विद्या भण्डारी, कम्युनिष्ट नेता विप्लव लगायतबारे उनले चर्को टिप्पणी गरेका छन् ।