सरकारमा सहभागी हुन मधेशवादी दल ईच्छुक, मन्त्री छान्ने जिम्मा प्रधानमन्त्रीलाई
माओवादी र मधेशवादीसँग परामर्शपछि मात्र मन्त्रिपरिषद विस्तार
काठमाडौं । सरकारमा पठाउने मन्त्रीहरुको नाम टुङ्ग्याउन शुक्रबार बिहान बसेको एमालेको स्थायी बैठक मन्त्री छान्ने जिम्मा प्रधानमन्त्री ओलीलाई सुम्पीदै सकिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मधेसवादी दलहरु पनि सरकारमा सहभागी हुन ईच्छुक देखिएकाले छलफल गरेर मन्त्रीपरिषद् विस्तार गर्न प्रधानमन्त्री ओलीको जिम्मा लगाएको हो ।
एमालेले वाम गठबन्धनको बहुमत भए पनि दुई तिहाई बहुमतसहितको सरकार गठन गर्न मधेशवादी दललाई पनि मन्त्रिपरिषदमा सामेल गर्न ओलीलाई म्याण्डेट दिएको उपाध्यक्ष भीम रावलले बताए । माओवादी, संघीय समाजवादी फोरम र राजपासँग ओलीले छलफल गर्ने उनले बताए ।
एमाले र माओवादीबीच हिजो मात्रै मन्त्रालयको भागबण्डा भएको थियो । एमालेले १० र माओवादीले ७ मन्त्रालय लिने सहमति भएसँगै एमालेले मन्त्री हुने नेता छनोट गर्न लागेको हो । दुई दलबीच मन्त्रालय भागबण्डापछि प्रधानमन्त्री ओली आजै मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
अध्यक्ष ओली गत बिहीबार (फागुन ३ गते ) प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले एमालेबाट २ मन्त्री थपेर शपथ गराएका थिए ।