प्रधानमन्त्रीको ‘बर्थडे पार्टी’मा दिउसो केक, साँझ जांडरक्सी !
प्रधानमन्त्रीको भद्दा जन्मदिन
लोकेन्द्र भट्ट ।
काठमाडौं । केपी ओली देशको प्रधानमन्त्री मात्रै नभएर ‘कम्युनिष्ट नेता’ पनि हुन् । झापा आन्दोलनको ‘लिगेशी’ नभए पनि केही स्मृति त पक्कै हुनुपर्ने हो ।जनवादको सिद्धान्त बिर्से पनि नारा त पक्कै सम्झेकै हुनुपर्ने हो । उनको पार्टी कार्यालयमा हँसिया–हथौडाको झण्डा टाँगिएकै ।
उनले बिर्से पनि जनवादी आन्दोलन उनका असल कार्यकर्ताले सम्झेकै होलान् । एमालेका नेता मदन भण्डारीले ब्याख्या गरे अनुसार अबको नेपाली कम्युनिष्ट आन्दोलन निर्वाचनद्धारा संसदलाई प्रयोग गर्दै जनवाद ल्याउने हो ।
ओलीलाई यति पक्कै हेक्का हुनुपर्ने । त्यसो त, जनताको बहुदलीय जनवादको असल संरक्षक उनै केपी हुन् पनि भनिन्छ एमालेभित्र ।
केपीको जन्मदिन
केपी ओली आज ६६ वर्ष पुगे । यही उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा उनको जन्मदिन भव्य रुपमा मनाइँदैछ । थरी थरी रंगका केक ल्याएर प्रधानमन्त्री निवासमा ओलीले केक काटे । उनको जन्मदिनमा खुसी मनाउन एमाले नेता–कार्यकर्ता साथै भारत र चीनका राजदूत पनि उपस्थित छन् ।
ओलीले जन्मदिन मनाइरहँदा उनका सुभचिन्तक र कार्यकर्तालाई त रमाइलै लाग्ला । आम जनतालाई चाहीँ कस्तो हुँदो हो ?
जाजरकोटमा हरेक वर्ष औषधि नपाएर स्थानीयको मृत्यु हुँदैआएको छ । जुम्लामा चामल नपाएर हजारौँ गाउँले हप्तौँसम्म लाईनमा बस्छन् ।
देशका बृद्ध ‘कम्युनिष्ट’ प्रधानमन्त्री भने कार्यकर्ता र ब्यापारीलाई प्रधानमन्त्री निवासमा बोलाएर जन्मदिनको केक काट्छन् । उनको जन्मदिनमा काटिएका रंगीचंगी केक, क्याटरिङको खर्च, खाना, चिया, कफी, कर्मचारी खर्च कति हो ? कहाँबाट आयो त्यो पैसा ? सबको हरहिसाव हुनैपर्छ र आम जनताले बुझ्ने गरी सार्वजनिक गरिनुपर्छ ।
जाँडरक्सी पनि !
बालुवाटारका केही कर्मचारीले बताए अनुसार प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा आजै साँझ केही ब्यापारीले जाँडरक्सी समेत अफर गरेका छन् ।
ओलीका केही अति निकट ब्यापारी र नेताहरुबीच शुक्रबार साँझ बालुवाटारमै जाँडपार्टी समेत हुने बुझिएको छ । ‘प्रधानमन्त्री ज्यूको लागि केही ब्यापारीले अफर गरेर मदिरा पनि ल्याउनुभएको छ,’ एक उच्च कर्मचारीले भने, ‘आम कार्यकर्ता र सुभचिन्तकको लागि पार्टी सकिएपछि साँझ अवेर मात्रै सिमितहरुको लागि मदिरा पार्टी गर्ने कार्यक्रम छ ।’
ती कर्मचारीले बताए अनुसार प्रधानमन्त्री सुरुमा यसको लागि तयार थिएनन् । ब्यापारीहरुको आग्रह बढी नै आएपछि अन्ततः गोप्य तरिकाले पार्टी गर्नेमा तयार भएका हुन् ।
कति खर्च ?
जन्मदिनको पार्टीका लागि कति खर्च लाग्यो भन्ने चाहीँ पूर्ण विवरण आइसकेको छैन । ती कर्मचारीका अनुसार करिब १० लाख भन्दा बढी नै खर्च भएको छ ।खर्चको पूर्ण विवरण आइसकेपछि मात्रै प्रधानमन्त्रीलाई बुझाउने बताइएको छ । सोही अनुरुप प्रधानमन्त्रीले रकम भुक्तान गर्ने ती कर्मचारीले बताए ।